भारतमा फेरी बढ्यो कोरोना संक्रमण, महाराष्ट्रमा छ महिना यताकै उच्च

नयाँदिल्ली ६ चैत । कोरोनाबाट लामो समय जुधि रहेको महाराष्ट्रको अवस्था फेरी एकपटक नियन्त्रण बाहिर गएको जस्तो देखिन थालेको छ । त्यहाँ बिहीबार मात्रै २५ हजार ८३३ जना नयाँ संक्रमित देखा परे । यो संख्या एकै दिन देखिएको छ महिना यताकै उच्च हो । गत सेम्टेम्बर महिनामा सो राज्यमा एकै दिन सर्वाधिक २४ हजार ८८६ जना नयाँ संक्रमित भेटिएको थियो ।

महाराष्ट्रमा कोरोनाबाट पहिलो मृत्यु १७ मार्च २०२० मा भएको थियो । एक बर्ष पुग्दा विहीबारसम्म ५३ हजार १३८ जनाले सोही कारण ज्यान गुमाई सकेका छन् ।

संक्रमण तिब्रगतिमा बढदै जाँदा सरकारले यात्रा प्रतिवन्ध, लकडाउन र कर्र्फु लगाउन थालेको छ । २० मार्च देखि मध्येप्रदेशमा महाराष्ट्रबाट आउने जाने अन्तरदेशीय यात्रुबहाक बसलाई प्रतिवन्ध लगाएको छ । यो प्रतिवन्ध ३१ मार्चसम्म जारी रहने मध्येप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले विहीबार बेलुका मन्त्रालयमा बोलाएको बैठकमा जानकारी दिए । उनले कोरोनाको दोस्रो लहर राज्यमा देखिएको भन्दै यो पहिलो भन्दा बढी खतरनाक भएको प्रतिक्रिया दिएका छन् । उनले महाराष्ट्रसंग सिमा जोडिएका जिल्लालाई कडाईका साथ आउजाउमा प्रतिवन्ध लगाउन निर्देशन दिएका छन् ।

उता गुजरातमा पनि कोरोना संक्रमण बढ्न थालेपछि अहमदाबाद मुनिसिपल कर्पोरेसनले शुक्रबार (आज)बाट रात्रीकालिन कर्र्फुको घोषणा गरेको छ । घोषणामा रातीको ९ बजे देखि विहान ६ बजेसम्म मानिस हिडडुल गर्न रोक लगाईएको छ । यसबाहेक शहरमा शनिबार, आइतबार सपिङ मल, सिनेमा हल, आदि सार्वजनिक स्थानलाई बन्द गर्ने निर्णय गरेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा महाराष्ट्रपछि केरलमा १ हजार ७९२ जना र पञ्जावमा १ हजार ४९२ जनामा संक्रमण देखिएको छ ।

गुजरातले सीमा नाका सिल गर्यो
उता कोरोना संक्रमण बढ्दो क्रममा देखिन थालेपछि गुजरातले आफ्नो आठ ठूला शहरमा १० अप्रिलसम्मका लागि स्कुल कलेज तथा विश्वविद्यालय बन्द गर्ने निर्णय गरकेो छ । विश्व विद्यालयको परीक्षा पनि स्थगित गरिएको छ । अहमदावाद सुरतमा सार्वजनिक बस सेवा, गार्डन, जीम, चिडियाखाना, आदि बन्द गरिएको छ । यस्तै छिमेकी राज्यहरु राजस्थान, महाराष्ट्र तथा मध्येप्रदेशको सिमा नाका बन्द गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा पाइएको कोरोनाको नयाँ भेरियन्टबाट अहिलेसम्म भारतमा ४ सय बढी संक्रमित भएका छन् । दुई साता अघिसम्म यस्तो भेरियन्टबाट २४२ जना मात्रै संक्रमित थिए । पछिल्लो समय नयाँ भेरियन्टको संख्या बढदै जाँदा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

उता कोराना संक्रमण बढ्दै जान थालेपछि नागपुरमा १५ देखि २१ मार्चसम्म कडा लकडाउन गरिएको छ । महाराष्ट्र, पञ्जाव, मध्येप्रदेश र गुजरातका कयौँ शहरमा कर्र्फु लगाइएको छ । यसमा नागपुर, पुणे, अकोला, परभणी, औरंगावाद, अमरावती, लुधियाना, जालंन्धर, पटियाला, मोहाली, अमृतसर, गुरदासपुर, होसियारपुर, कपुरथला, रोपड, भोपाल, इन्दोर, अहमदावाद, बडोदरा, सुरत र राजकोट लगायतका शहरहरु रहेका छन् ।

अहिले भारतमा २ लाख ५२ हजार ३६४ जना संक्रिय संक्रमित देखिएको छ । जो कुल संक्रमितको २.२ प्रतिशत हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *