२३ फागुन देखि शिक्षक तथा प्राध्यापकले कोभिडबिरुद्धको खोप पाउने

काठमाडौँ १३ फागुन । कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गरेको सरकारले आगामी २३ फागुन देखि देशभरका सबै शिक्षक र प्राध्यापकहरुलाई पनि दिने भएको छ । सोही दिन देखि यातायात क्षेत्रका मजदुर (चालक तथा सहचालक)ले पनि खोप पाउनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ फागुन देखि खोप अभियान समुदायस्तरमा सञ्चालन गर्नेै र ५५ बर्ष माथिका सबैलाई खोप दिने योजना अघि सारेको छ ।

‘अहिले देशमा ५५ बर्ष माथिका व्यक्तिहरुको संख्या ३७ लाख बढी छ । यहि बेला नै हामीले सामुदायिक तथा निजी शिक्षण संस्थामा कार्यरत शिक्षक तथा प्राध्यापक, कर्मचारी तथा सहयोगीहरुलाई खोप दिने योजना गरिएको छ ।  यो संख्या करीब ४ लाख भएको अनुमान छ । यस्तै यातायात क्षेत्रमा क्रियाशिल मजदुरहरु चालक तथा सहचालकहरुलाई पनि त्यहि बेला नै खोप दिने योजना बनाइएको छ । यसको एकीन संख्या आइसकेको छैन्,’ स्वास्थ्य सेवा विभाग अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले भने ।

उनले सो अभियानका लागि भारतबाट आएको अनुदान र खरीदको गरी २५ लाख डोज र चीनबाट आउन लागेको ५ लाख अनुदानको खोप गरी ३० लाख प्रयोगमा आउने र त्यसबीचमा आइपुग्ने गरी थप खोपका लागि खरीद प्रक्रिया अघि बढाउने तयारीमा सरकार रहेको जानकारी दिए ।

डा गौतमले २३ फागुन देखिको अभियान समुदायस्तरमै सञ्चालन गर्ने समेत बताए ।

पहिलो चरणमा खोप लगाएकाहरुको दोस्रो मात्रा बैशाखको दोस्रो हप्तामा
यसैबीच बिभागले गत १४ माघ देखि खोप लगाएकाहरुको दोस्रो मात्रा आगामी बैशाखको ७ देखि १५ सम्ममा सुरु योजना बनाएको छ । पहिलो र दोस्रो मात्राको अन्तर ८ देखि १२ हप्ताबीच पार्ने योजना गरेको मन्त्रालयले दोस्रो मात्रा बैशाखको दोस्रो साताबाट सुरु गर्ने योजना बनाएको डा गौतमले जानकारी दिए ।

उनले पहिलो खोप लगाएका कसैलाई पनि गम्भीर समस्या नदेखिएको समेत दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *