नेपालले खरीद गरेकोमध्ये १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै

काठमाडौँ, ९ फागुन । सरकारले खरीद गरेको कोरोनाबिरुद्धको खोप कोभिसिल्डको १० लाख डोज आज काठमाडौँ आइपुग्दै छ । सिरम इस्टिच्युट अफ इन्डियाबाट खरीद गरेको सो खोप दिउसो साढे १ बजे काठमाडौँ आइपुग्ने बताइएको छ ।

‘भारतको नयाँ दिल्लीबाट आउने एयर इन्डियाको विमानले दिउसो साढे १ : ३० बजे १० लाख डोज काठमाडौँ ल्याउँदै छ,’ मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने । उनले गत ५ फागुनमा खोप निर्माता कम्पनी सिरम संग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको जानकारी दिए ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

डा अधिकारीले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *