कोभिडबिरुद्धको खोप : आकस्मिक प्रयोगका लागि चिनियाँ खोपले पनि पायो अनुमति

काठमाडौँ,, ५ फागनु । सरकारले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडबिरुद्धको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा बुधबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि सो खोपलाई अनुमति दिएको हो । त्यसअघि कम्पनीले विभागमा पेश गर्नुपर्ने सबै डकुमेन्ट उपलव्ध गराएको थियो ।

‘आकस्मिक प्रयोगका लागि ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ खोप ससर्त अनुमति दिएका छौँ । कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा यो खोपलाई ससर्त अनुमति दिइएको हो,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।

अनुमतिसंगै चीनले दिने भनेको ५ लाख डोज खोप आउने बाटो खुलेको छ । केही दिन अघि चिनियाँ विदेश मन्त्रीले नेपालका समकक्षीसंग टेलिफोन गर्दै ५ लाख खोप दिने बताएका थिए । तर आकस्मिक प्रयोगका लागि अनुमति नहुँदा त्यो खोप आउन सकेको थिएन ।

यो खोप पनि २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा राख्न मिल्छ । विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि अनुमति प्रदान गर्ने प्रक्रियामा रहेका खोपहरुको सूचीमा यो खोप पहिलो नम्बरमा छ । डव्लुएचओले यसअघि रहेका फाइजर र अक्सफोर्ड एस्टाजेनेकाबाट उत्पादित खोपहरुलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ ।

नेपालमा यसअघि अक्सफोर्ड एस्टाजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादन भइरहेको खोप कोभिसिल्डलाई यस्तै अनुमति दिइएको थियो । अनुमतिपछि भारतबाट १० लाख डोज खोप आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *