चिकित्सक संघ र अफिनले चिकित्सकहरुको ओपिडी शुल्क बढायो

काठमाडौँं, ५ फागुन । नेपाल चिकित्सक संघ .(एनएमए) र निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिचयुसन नेपाल (अफिन) ले चिकित्सकहरुको ओपिडी शुल्क बढाएको छ । शुल्क बढाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहमति नभएपछि एनएमए र अफिनले एकतर्फी रुपमा शुल्क बढाएको हो ।

नयाँ शुल्क दर अधिकतम ८२५ रुपैयाँ र न्युनतम ३७० रुपैयाँ तोकिएको छ । त्यसमा नर्सिङ होम तथा अस्पतालहरुले थप २० प्रतिशत सर्भिस चार्ज समेत जोडन पाउने गरी निर्णय गरेको छ । यो अनुसार अब बिरामीले डीएम एमसिएच गरेको चिकित्सकलाई देखाउँदा ९९० रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

नयाँ निर्णय अनुसार डिएम एमसीएच गरेको र पाँच बर्ष अनुभव प्राप्त चिकित्सक वा एमडीएमएस, एमडीएस गरेको १० बर्ष अनुभव प्राप्त चिकित्सकलाई ८२५ रुपैयाँ ओपिडी शुल्क तोकिएको छ । एमबीबीएस वा बिडीएस गरी पाँच बर्ष अनुभव नपुगेको चिकित्सकको ओपीडी शुल्क ३७० रुपैयाँ तोकिएको छ ।

एनएमएका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त आन्दोलनपछि मन्त्रालयमा ४ माघमा भएको सम्झौँतामा ३० दिन भित्र शुल्क समायोजन गर्ने निर्णय भएको तर त्यसको कार्यान्वयन नभएपछि आफूहरु बाध्यभएर शुल्क बढाएको बताए । हिजो बसेको एनएमए र अफिनको संंयुक्त बैठकले शुल्क बढाउने निर्णय गरेको थियो ।

डा कार्कीले २०७१ असोज १ देखि लागू भएको ओपिडी शुल्क दुई दुई बर्षमा समायोजन गर्नुपर्ने भएपनि त्यो अहिलेसम्म नभएको र हालैको आन्दोलन पछिको बार्तामा सो विषयमा छलफल भई त्यसलाई एक महिना भित्रै टुंग्याउने भनेपछि त्यसो हुन नसकेको भन्दै आफूहरुको बाध्यता रहेको बताए ।

यस्तै निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरहरुको न्युनतम तलव ४२ हजार तोकिएको समेत निर्णयमा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *