अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप डव्लुएचओमा सूचिकृत

काठमाडौँ, ४ फागुन ।  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले आपतकालिन प्रयोगका लागि अक्सफोर्ड / एस्ट्राजेनेकाले विकास गरेकोे खोपका दुईवटा संस्करणलाई सूचीकृत गरेको छ । अक्सफोर्ड/ एस्ट्राजेनेकाले विकास गरेको खोपहरु एसकेबायो (दक्षिण कोरिया) र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएका छन् ।

सेरममा उत्पादित कोभिडबिरुद्धको खोप कोभिसिल्ड अहिले नेपालमा समेत प्रयोग हुँदै आइरहेको छ ।

डब्लुएचओको स्वीकृतिसंगै ती खोपहरु अब कोभ्याक्स फेसिलिटि अन्तरगर्तका संसारका विभिन्न देशहरुमा समेत पठाउने बाटो खुलेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले कोभ्याक्स फेसिलिटि अन्तरगर्तको खोपको पहिलो खेप सेरमले उत्पादन गरेको कोभिसिल्ड नै आउने सम्भावना बढी भएको बताएका छन् ।

डब्लुएचओले आकस्मिक प्रयोगका लागि स्वीकृति दिनुअघि खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको आकलन गर्दछ । यस्तै देशहरुलाई कोभिड खोपहरु आयात तथा निर्यात गर्न आफ्नै नियामक स्वीकृति द्रुत गर्न पनि अनुमति दिन्छ ।

‘कोभ्याक्स फेसिलिटी अन्तरगर्त अहिलेसम्म खोप नपाएका देशहरुलाई प्राथमिकताका साथ खोप वितरण गरिन्छ र त्यसमा स्वास्थ्यकर्मी र जोखिमयुक्त समूहको पहिचान गरि खोप लगाउन थालिन्छ । खोपको वितरण न्यायपूर्ण हुन्छ,’ डव्लुएचओका उप महानिर्देशक डा मारिङेला सिमाओले भनिन् ।

उनले उच्च प्राथमिकतामा रहेका जनताहरुबाटै कोभ्याक्स फेसिलिटी अन्तरगर्तको खोपको वितरण गर्नुपर्ने सुनाइन् । उनले त्यसका लागि खोपको उत्पादनमा समेत बृद्धि गर्नुपर्ने बताइन ।

डव्लुएचओले सोमबार नै ती कम्पनीहरुलाई यी खोपहरुको विकास गर्ने क्रममा गरिएका सबै अनुसन्धान तथा तथ्यांकहरु उपलव्ध गराउन समेत भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *