९३ बर्ष पुगेका बरिष्ठ पत्रकार भैरव रिसालले पनि लगाए कोरोना बिरुद्धको खोप

खोप लिएपछि आराम गरेका ९३ बर्षीय बरिष्ठ पत्रकार भैरव रिसाल

काठमाडौँ, ३० माघ । बरिष्ठ पत्रकार भैरव रिसालले पनि कोरोना बिरुद्धको खोप ‘कोभिसिल्ड’ लगाएका छन् । उमेरले ९३ बर्ष पुगेका उनले बिहीबार दिउसो मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाएका हुन् ।

नेपालमा ‘कोभिसिल्ड’ खोप लिने उनी सम्भवत सबैभन्दा जेष्ठ नागरिक हुन् ।

खोप लिएपछि आधा घण्टा खोप केन्द्रमै आराम गरेका उनी त्यसपछि घर फर्केका थिए । खोप लगाएका कतिपयलाई सामान्य असर देखिए पनि उनलाई त्यस्तो कुनै असर देखिएको छैन् ।

‘हिजो दिउसो खोप लगाएर आएँ अहिलेसम्म कुनै असर देखिएको छैन् । अब त त्यस्तो असर देखिने समय पनि लगभग सकियो । अब केही नहोला,’ शुक्रबार विहान नेपाली हेल्थसंग कुरा गर्दै भने ।

खोप लगाउनु अघि उनले बेलायतमा रहेको रहेको आफ्नो नाती डाक्टर (छोरीको छोरा) संग सल्लाह लिएका थिए । यस्तै यहाँका बरिष्ठ डाक्टर सरोज धितालसंग पनि सल्लाह गरेको उनले सुनाए ।

‘बेलायतमा मेरो छोरीको छोरा (नाती) डाक्टर छ । उ संग सोधें उसले लिनुभए हुन्छ हजुरबुवा भन्यो । यस्तै यहाँ पनि मेरो नजिकको डाक्टर सरोज धितालसंग सल्लाह लिएँ । उहाँले पनि लिनुस् भन्नुभयो । त्यसपछि खोप लिन आएँ । खोप लगाईसकेपछि ज्वरो आउने, टाउको दुख्ने, वाक वाक लाग्ने, कमजोर हुने, निन्द्रा लाग्ने जस्ता सामान्य लक्षण हुनसक्छन् भन्ने चिकित्सकहरुले बताएका थिए । मैले त्यो हुनसक्छ भनेर तयारी गरेको पनि थिएँ तर मलाई त केही पनि भएन,’ शुक्रबार टेलिफोनमा भने ।

उनले कोरोना महामारीपछि पहिलो प्राथमिकतामा राखेर पत्रकारहरुलाई खोपको व्यवस्था गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद समेत दिए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले जेष्ठ नागरिकका लागि पनि कोभिसिल्ड सुरक्षित रहेको बताए । ‘हामीले बृद्धाश्रम र जेलमा रहेका धेरै जेष्ठ नागरिकलाई पनि खोप दियौँ । केही केहीलाई सामान्य असर जस्तो देखियो धेरैलाई केही भएन । त्यसैले १८ बर्ष माथिका सबैले खोप ढुक्कले लगाउँदा हुन्छ,’ उनले भने ।

भारत सरकारको अनुदानमा १० लाख डोज खोप कोभिसिल्ड प्राप्त भएपछि सरकारले गत १४ माघ देखि खोप अभियान शुरु गरेको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, सव व्यवस्थापनमा खटिएका कर्मचारी, जेलमा रहेका कैदी बन्दी, बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई समेत खोप दिइएको थियो ।

यस्तै २६ माघ देखि पत्रकार, युएन एजेन्सी, कुटनीतिक नियोगका कर्मचारी तथा दुतावासका कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाएको थियो । उपत्यकामा यी समूहले आजसम्म खोप लिन पाउनेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *