चिनियाँ खोप ल्याउन नेपालका दुईवटा निजी कम्पनी इच्छुक

काठमाडौँ, २२ माघ ।  कोरोनाबिरुद्धका लागि भन्दै चिनियाँ कम्पनी सिनोफर्माले तयार पारेको खोप सिनोभ्याक ल्याउन नेपालका दुईवटा निजी कम्पनीले इच्छा देखाएका छन् । महाराजगञ्जमा कार्यालय रहेको पी एण्ड जी होल्डिङ प्रालि र तिनकुने कार्यलय रहेको हस्पिटेक इन्टरप्राइजेज प्रालि खोप ल्याउन इच्छा देखाएका हुन् ।

त्यसका लागि उनीहरुले औषधि व्यवस्था विभागमा निवेदन समेत दर्ता गराईसकेका छन् । तर आकस्मिक प्रयोगका लागि खोप निर्माता कम्पनीको तर्फबाट आउनुपर्ने आवश्यक कागजात नआउँदा उनीहरुको निवेदन अहिले यत्तिकै थन्किएको छ ।

विभागका प्रवक्ता सन्तोष केसी भन्छन्, ‘खोप ल्याउनका लागि दुईवटा कम्पनीले इच्छा देखाएका छन् । तर खोप निर्माता कम्पनी स्वयं भने अहिलेसम्म हामीसंग सम्पर्कमा आएको छैन् । आवश्यक कागजात पनि पेश गरेको छैन् । त्यो नआउँदासम्म आपतकालिन प्रयोगका लागि स्वीकृति दिन मिल्दैन ।’

उनले कम्पनीले आवश्यक कागजात बुझाएर स्वीकृति पाएपनि सिनोभ्याक ल्याउन निवेदन हालेका दुईवटा कम्पनीमध्ये एउटालाई मात्रै स्वीकृति दिने स्पष्ट पारे । उनले सिनोभ्याक खोपको प्रति डोज खोपको मूल्य ६५ डलर भएको र नेपालका लागि ४५ डलरमा उपलव्ध गराउन सकिने भन्दै पत्र आएको समेत बताए ।

केही दिन अघि मात्रै नेपालस्थित चिनियाँ दुतावासको हवाला दिदै चीनले तीन लाख डोज खोप अनुदानमा उपलव्ध गराउन लागेको भन्ने समाचार समेत आएको थियो । तर खोप उपलव्ध गराउनु अघि औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने र त्यसका लागि प्रक्रिया अघि बढी नसकेकोले कहिले आउँछ भन्नेबारेमा भने अझै एकीन हुनसकेको छैन् ।

चिनिया खोप भारतबाट आउने भन्दा झण्डै नौ गुणा महंगो
सिनोभ्याक निर्यात गर्ने ठेक्का पाएको सिंगापुरस्थित व्लु स्टोन ग्लोबल टेक्नोलोजी प्रालिले काठमाडौँस्थित बी एण्ड जी होल्डिङ प्रालिलाई गत १४ ज्यानवरीमा पठाएको पत्रमा सिनोभ्याक प्रति डोजको मूल्य ६५ डलर भएपनि नेपालका लागि ४५ डलरमा उपलव्ध गराउने बताएको छ । आजको दिनमा ४५ डलरको नेपाली रुपैयाँ ५ हजार २३८ रुपैयाँ पर्न आउँछ ।

तर भारतस्थित सिरम इन्स्टिच्युटले उपलव्ध गराएको मुल्य त्यसको झण्डै नौ गुणा सस्तो पर्ने बताइएको छ । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सिरमबाट प्रति डोज ५ डलर भन्दा कममै नेपाललाई खोप उपलव्ध गराउने विश्वास व्यक्त गरे । बुधबार एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा मन्त्री त्रिपाठीले भारत सरकारको सहयोगमा निकै सहुलियत दरमा सिरम इन्स्टिच्युटबाट कोभिसिल्ड खरीद गर्न लागिएको बताए ।

भारतले दुई साता अघि मात्रै १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलव्ध गराएको थियो । मन्त्री त्रिपाठीले सिरमबाट २० लाख बढी खोप सहुलियत मूल्यमा केही दिनमै आउने संकेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *