सात प्रदेशका लागि ४८ हजार ७०० भाइल ‘कोभिसिल्ड’ पठाइयो

गण्डकी प्रदेशमा आइतबार बेलुका पुगेको खोप ‘कोभिसिल्ड’ एक समारोहकाबीच सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरलाई हस्तान्तरण गरिदै

काठमाडौँ, १२ माघ । आगामी १४ माघ देखि कोभिडबिरुद्धको खोप सुरु गर्ने योजना बनाएको सरकारले सोमबारसम्म सात प्रदेशमा ४८ हजार ७०० भाइल कोभिसिल्ड वितरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लाका ‘फ्रन्टलाइन हेल्थ वर्कर’ तथा प्राथमिकतामा परेका कर्मचारीलाई पहिलो डोज पुग्ने गरी सो परिमाणमा कोभिसिल्ड वितरण गरेको हो । एक भाइल कोभिसिल्डमा १० डोज खोप रहनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पोखरामा ४ हजार भाइल खोप पठाइएको छ । बुटवलमा ८ हजार ८ सय भाइल, नेपालगञ्जमा २ हजार ६०० भाइल र धनगढीमा ३ हजार ६०० भाइल खोप पठाइएको छ । यस्तै हेटौडामा ७ हजार ६०० भाइल, बिराटनगरमा ९ हजार ६०० भाइल खोप पठाइएको छ । काठमाडौं उपत्यका र यसआसपासका १० जिल्लाका लागि १२ हजार ५ सय भाइल खोप छुट्याएर राखिएको छ ।

उपत्यका बाहिर प्रदेशस्थित प्रदेश डिपोहरुमा खोप पुगेर कतिपय जिल्लामा पनि पठाउन थालिएको छ । उपत्यका र आसपासका लागि टेकुस्थित भण्डारमै खोप छुट्याएर राखिएको भएपनि जिल्लाहरुमा डिस्प्याच हुन थालिसकेको छ ।

आगामी बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विहान १० बजे बालुवाटारबाट खोप अभियानको शुभारम्भ गर्ने छन् ।

पहिलो चरणको खोप अभियान शुभारम्भ गर्न मन्त्रालयले १४ देखि १८ गतेसम्म लाग्ने बताएको छ । तर शुभारम्भ भएको १० दिनमा सबै ठाँउमा पहिलो डोज खोप लगाईसक्ने बताइएको छ ।

भारत सरकारको सहयोगमा प्राप्त १ लाख भाइल कोभिसिल्ड मध्ये झण्डै आधा पहिलो डोजका लागि पठाइएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पहिलो चरणमा करीब ४ लाख ३० हजार जनाले खोप लगाउने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *