कोभिड-१९ विरुद्धको चिनियाँ खोप ‘मध्य-चरण परीक्षणमा सफल’

 


बीबीसी । कोभिड- १९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।  चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइपनि सकिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो।

युरोपेली र अमेरिकी खोपहरूको ठूलो स्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती खोपहरू सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा यो पछिल्लो घोषणा आएको छ।

अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपहरूको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक भएका छन् र दशौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९०% भन्दा बढी नै प्रभावकारी देखिएको बताइएको छ।

चिनियाँ खोपका बारेमा के थाहा छ ?

बाँकी विश्वले जस्तै चीनले पनि कोभिड विरुद्धको खोप बनाउन जोडतोडले प्रयास गरिरहेको छ।

यसैक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका छन् जसमा सीनोभ्याक बायोटेकको खोप पनि पर्दछ।

तर वैज्ञानिक जर्नल द ल्यान्सेटमा प्रकाशित परिणामहरू ती चारमध्ये एकको पहिलो र दोस्रो चरणका परीक्षणबाट प्राप्त तथ्याङ्कहरूमात्र हुन्।

उक्त प्रतिवेदन अनुसार सिनोभ्याक बायोटेकको कोरोनाभ्याक नाम दिइएको खोपले मानव शरिरमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया जनाउन सकेको थियो।

तर गत एप्रिल र मे महिनामा गरिएको अध्ययनले उक्त खोपको सफलताको दरको कुनै प्रतिशत प्रस्तुत गरिएको छैन।

उक्त प्रतिवेदनका एक लेखक झु फेङ्गचाइले भनेका छन् पहिलो चरणमा १४४ र दोस्रो चरणमा ६०० जनामा गरिएको परीक्षणमा आधारित ती नतिजाहरूको अर्थ उक्त खोप ‘आपत्कालीन अवस्थामा प्रयोग गर्न योग्य’ रहेको मान्न सकिन्छ।

हाल जारी ठूलो स्तरको तेस्रो चरणको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक गरिएको छैन।

ठूलो स्तरको परीक्षण

चीनमा महामारी केही हदसम्म नियन्त्रणमा आएको बताइरहँदा ती चार चिनियाँ खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इन्डोनेशिया र ब्रजिलमा भैरहेको छ।

अधिकारीहरुका अनुसार नोभेम्बर महिनाको आरम्भतिर झण्डै ६०,००० जनाले एउटा खोप लगाइसकेका छन्।

गत हप्ता ब्रजिलमा सिनोभ्याक बायोटेक खोपको परीक्षण केही समयका लागि रोकिएको थियो तर परीक्षणमा संलग्न एकजना स्वयंसेवीको मृत्युको सम्बन्ध खोपसँग रहेको नदेखिएपछि परीक्षण पुन: सञ्चालन गरिएको छ।

कम्तीमा तीनवटा खोप एउटा आपत्कालीन योजना अनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा चाहिँ गत जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *