४५०० भाइल रेम्डेसिभिर औषधि काठमाडौँ आईपुग्दै, तत्कालको अभाव हट्ने विश्वास

काठमाडौँ, १३ कात्तिक । नेपालमा आज थप ४ हजार ५ सय भाइल रेम्डेसिभिर औषधि भित्रिएको छ । बंगलादेशको बेक्सिम्को फर्मास्यिुटिकल्सबाट उत्पादित रेम्डेसिभिर अबको केही घण्टामा काठमाडौँ आईपुग्ने र वितरण शुरु हुने औषधि आयातकर्ता हाम्रो मेडि कन्सर्नले जनाएको छ ।

यसअघि बंगलादेशबाट स्थलमार्ग हुँदै ल्याइएको औषधि हिजो काकडभित्ता नाकाबाट नेपाल छिरेको थियो । ‘अब तीन – चार घण्टामा काठमाडौँ आईपुग्ला । त्यस लगत्तै हामीले औषधिको वितरणलाई तिब्रता दिनेछौँ । किनभने अहिले यो औषधिको निक्कै अभाव भईरहेको छ । यसले तत्कालको अभाव हट्ने विश्वास लिएका छौँ,’ हाम्रो मेडि कन्सर्नका म्यानेजिङ डारेक्टर शम्भु कार्कीले भने ।

यसअघि औषधि व्यवस्था विभागले औषधि आयातकर्ता हाम्रो मेडि कन्सर्नलाई बंगलादेशको बेक्सिम्को फर्मास्युटिकल्सबाट १० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो । विभागका महानिर्देशक भरत भट्टराईले यसअघि बेक्सिम्कोले निशुल्क प्रदान गरेको ५ हजार भाइल रेम्डेसिभिरको प्रभावकारिता हेरेर ठिक भएको पाएपछि थप औषधि आयात गर्न अनुमति दिएको बताए । उनले बंगलादेशबाट आउने रेम्डेसिभिर औषधिको मूल्य पनि अहिलेसम्मकै सस्तो भएको बताए ।

‘हाम्रो चाहना गुणस्तरीय र सर्वसुलभ रुपमा बिरामीले औषधि पाउन भन्ने हो । बेक्सिम्कोबाट ल्याईने रेम्डेसिभिरको मूल्य अहिले ५ हजार ४ सय रुपैयाँ तोकिएको छ ।जो यसअघि प्राप्त भएको सबैभन्दा सस्तो भनिएको कम्पनीको मूल्य भन्दा १ हजार रुपैयाँ सस्तो पनि हो,’ महानिर्देशक भट्टराईले भने । महामारीको बेला सर्वशुलभ रुपमा गुणस्तरीय औषधि उपलव्ध गराउन विभागले आवश्यक कार्य गरिरहेको बताए ।

हाम्रो मेडि कन्सर्नका एमडी कार्कीले कोरोनाका लागि तोकिएका अस्पतालहरुका फार्मेसीमा आवश्यकताका आधारमा औषधि वितरण गरिने बताए । उनले त्यसका लागि विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदसंग समन्वय समेत गरिएको बताए ।  आफूले ल्याएको औषधि ५ हजार ४ सय रुपैयाँमा नै बिरामी पक्षले पाउने समेत उनले बताए ।

१० हजार भाइल ल्याउने स्वीकृति पाएको हाम्रो मेडि कन्सर्नले बाँकी औषधि अर्को हप्तासम्ममा ल्याई पुर्‍याउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *