‘बजारमा औषधि अभाव हुँदैन’


काठमाडौँ, ११ जेठ । सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ ।

औषधि व्यवस्था विभागले बन्दाबन्दी शुरु हुनासाथ पाँच ६ महिनाका लागि औषधि रहेको जनाएको थियो । त्यही आधारमा बन्दाबन्दी आज दुई महिना बितेकाले अझै तीन चार महिनाका लागि औषधि बाँकी रहेको औषधि व्यवस्था विभागले जनाएको छ । त्यसो त भारतबाट आउने औषधि पनि आइरहेको छ भने स्वदेशी उत्पादकले पनि उत्पादन गरिरहेका छन् । विभागले अहिले कति औषधि मौजुदा अवस्थामा छ भनी अध्ययन गर्न लागेको सूचना अधिकारी सन्तोष केसीले बताए। उनले भने, “महिना नै तोकेर यति समयका लागि औषधि छ भन्न नसकिए पनि अझै केही महिना समस्या नहुने देखिएको छ ।”

बन्दाबन्दीपछि केही समय यातायातका कारण कतिपय स्थानमा औषधि ढुवानीमा समस्या देखिए पनि अहिले ढुवानी सहज बन्न थालेको उनले बताए । अहिले कुनै कुनै ठाउँमा केही कारण औषधि नपुगेको भए पनि समग्रमा देशभित्र औषधिको अभाव नरहेको विभागले जनाएको छ ।

सरकारले बन्दाबन्दी जारी राखिरहँदा औषधिको उत्पादन, आयात र ढुवानी गर्नेलाई पास उपलब्ध गराएको छ र ती सवारीलाई छुट दिइएको छ । नेपालमा विदेशबाट आउने औषधिमध्ये ८० प्रतिशत भारतबाटै आउने गरेको छ । भारतमा ‘लकडाउन’ हुनासाथको अवस्थामा १३ प्रकारका औषधि र कच्चा पदार्थ रोकिएकाले समस्या भएको थियो । अहिले भारतबाट आउने औषधि नियमित आएकाले समस्या नभएको उनले बताए। भारतमा यातायात सहज भएपछि औषधि आयात अझै सहज हुने देखिएको छ । उनले भने, “भारतले उडान खुलाउँदा औषधि आयात गर्न अझै सजिलो हुनसक्छ ।”

सरकारको केही वर्ष पहिलेको तथ्याङ्कअनुसार नेपालमा उपभोग हुने औषधिमध्ये ४५ प्रतिशत स्वदेशी उत्पादन र ५५ प्रतिशत आयात हुने गरेको छ । केही वर्ष पहिलेको यो आँकडालाई सरकार अद्यावधिक गर्न अध्ययन गरिरहेको सूचना अधिकारले केसीले बताए । अहिले स्वास्थ्य सेवा विभाग आफैँले पनि केही औषधि बोलपत्र गरेर खरिद प्रक्रिया अघि बढाएको छ ।

बन्दाबन्दी हुनु पहिले र हुनासाथ कतिपय नागरिकले औषधि अभाव हुनसक्ने भन्दै लामो अवधिका लागि खरिद गरेका थिए । नियमित औषधि सेवन गर्नेमध्ये धेरैले पहिले लामो अवधिका लागि औषधि खरिद गरिसकेकाले अहिले बजारका औषधिको व्यापार कम भएको छ । उनले भने, “अहिले सामान्य मात्रामा मात्रै बिक्री रहेको पाइन्छ ।”

स्वदेशी उत्पादकले बन्दाबन्दी पहिले ल्याएर बाँकी रहेको कच्चा पदार्थबाट औषधि उत्पादन गरिरहेका छन् । नेपालमा उत्पादन हुने औषधिको कच्चा पदार्थमध्ये धेरै चीनबाट आयात हुने गरेको छ । अहिले कच्चा पदार्थको मूल्य वृद्धि भएको स्वदेशी उत्पादकले भनिरहेका छन् । मूल्यवृद्धिका कारण कच्चा पदार्थ ल्याउन र उत्पादनमा समस्या हुनसक्छ भनी व्यवसायीले ध्यानाकर्षण गराएको उनले बताए । तर, यो विषयमा अहिलेसम्म ठोस रुपमा पेश नभएको उनले बताए । उनले भने, “सम्बन्धित निकायबाट कागजात आएमा सरकारले आवश्यक निर्णय गर्ला ।”

बन्दाबन्दीको शुरुका दिनमा ढुवानी समस्यासँगै आवश्यक जनशक्तिको समेत समस्या रहेको उनले बताए । अहिले कतिपय उद्योगले आफ्नै साधनबाट ढुवानी गरिरहेका छन् । औषधि उत्पादकले भने तत्काल बजारमा अभाव नभएको भनी ढुक्क हुने अवस्था नरहेको बताएको छ ।

स्वदेशी उद्योगले पनि बजारको मागअनुसार उत्पादन गर्न नसकिरहेको र विदेशबाट पनि आयातमा समस्या आउनसक्ने औषधि उत्पादक केदार सिजापतिले बताए । बन्दाबन्दी पहिले नै धेरै नागरिकले घर घरमा औषधि लगेकाले तत्काल समस्या नभएको उनले बताए। उनका अनुसार सीमा विवादका कारण समस्या आउनसक्ने भन्दै कतिपयले अहिले पनि थप समयका लागि औषधि खरिद गरिसकेका छन् । उनले भने, “सामान्य अवस्थामा एक हप्ताका लागि औषधि किन्नेले अहिले एक महिनाका लागि र महिनाका लागि किन्नेले ६ महिनाका लागि किनेको पाइन्छ ।”

कच्चा सामग्रीमध्ये ८० प्रतिशत चीनबाटै आउने गरेको थियो । अहिले आउनुपर्ने कच्चा पदार्थ नआएको उनले बताए। कच्चा पदार्थको भाउ बढेकाले पनि उत्पादकलाई गाह्रो भइरहेको उनले बताए । भारतमा पनि आवश्यक कच्चा पदार्थको अभाव हुँदा आवश्यक मात्रामा औषधि उत्पादन हुन नसक्ने उनले बताए । औषधि आउँदा पनि कत्तिको गुणस्तरीय औषधि भन्ने कुरा पनि महत्वपूर्ण हुने उनले बताए । उनले भने, “समयमा नै यी कुरामा ध्यान दिन आवश्यक छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *