कपिलवस्तुमा १३ र बाँकेमा ६ सहित पछिल्लो २४ घण्टामा २५ जना संक्रमित

काठमाडौँ, ७ जेठ । सरकारले पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संंक्रमित हुनेहरुमा धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा १ र बाँकेमा ६ जना गरी २५ जना छन् । नेपालीहेल्थले धनकुटा र कपिलवस्तुको विवरण यसअघि नै प्रकाशित गरिसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमितहरु ३ देखि ४८ बर्ष उमेर समूहका रहेको बताए । उनले पछिल्लो विवरणमा संक्रमित महिलाको संख्या ७ र पुरुषको संख्या १८ भएको समेत जानकारी दिए ।

उनले बाँकेका ५ जना संक्रमितहरु नरैनापुर ५ का क्वारेन्टाइनमा रहेकाहरु भएको बताए । यस्तै एक जना खजुरा ५ का रहेका बताए । कपिलवस्तुका संक्रमित विजयनगर र महाराजगञ्ज क्वारेन्टाइनमा रहेकाहरु बताए ।

धनकुटाका संक्रमितभने जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु हुन् । केही दिन अघि एक जना नर्समा संक्रमण देखिएपछि अरु स्वास्थ्यकर्मी तथा चिकित्सकको परीक्षण गरिएको थियो । त्यहिमध्येका हुन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको छ ।

उदयपुरका ८ जना निको भए
यसैबीच प्रवक्ता डा देवकोटाले उदयपुर त्रियुगास्थित भुल्केका ८ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पताल भएर डिस्चार्ज भएको जानकारी दिए । ‘उहाँहरुको कोशी अस्पतालमा उपचार भइरहेको थियो । २९ देखि ३३ औँ दिनमा उहाँहरु निको भएर आज डिस्चार्ज हुनु भएको छ,’ डा देवकोटाले भने ।

कोरोना संक्रमितको थप मृत्यु भएको छैन
यसैबीच मन्त्रालयले कोरोना संक्रमित तेस्रो मृत्यु भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ । कतिपय संचारमाध्यमले रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको भन्दै समाचार प्रकाशित गरेका थिए । डा. देवकोटाले क्रिमशन अस्पतालमा भएका विरामीको अवस्था गम्भीर तर स्थिर भएको भन्दै त्यसबाहेकका समाचारहरुमा सत्यता नरहेको बताए ।

‘निजीलाई १५ हजार रुपैयाँमा पीसीआर जाँच गर्न दिने निर्णय भएको छैन् ‘
प्रवक्ता डा देवकोटाले लक्षण नभएका नागरिकले तोकिएका अस्पतालबाट सशुल्क रुपमा आरडीटी र पीसीआर परीक्षण गर्ने भन्ने विषयमा हिजो गरिएको नीतिगत निर्णयमा पनि सञ्चारमाध्यम तथा सामाजिक संजालमा गलत सूचना आइरहेको भन्दै स्पष्ट पारेका छन् ।

उनले कतिपय विदेशी कुटनीतिज्ञ र कतिपय स्वदेशीको आग्रहलाई ध्यान दिएर सशुल्क सेवा उपलव्ध गराउन खोजिएको भन्दै शुल्कको विषयमा कुनै निर्णय भइनसकेको बताए । नेपाली हेल्थले यस सम्वन्धमा मंगलबार नै अब पैसा तिरेर जो सुकैले कोरोना परीक्षण गर्न सक्ने समाचार प्रकाशित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *