न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ ।  उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

म्यानहटनस्थित इशावेल जेरियाटिक सेन्टरमा उपचाररत उनीहरुको मृत्यु भएको बताइएको छ ।

“यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,” न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने ।

एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए ।  ती मृत्यु भएका मध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ ।

अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ ।

शनिबार दिउसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अमेरिकामा अहिलेपनि देशभरी नौ लाख चार हजार १५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १४ हजार २७ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ७७७ रहेको छ ।

रासस/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *