दादुरा रुवेला खोप अभियानमा प्रदेश नं १ मा मंगलबारबाट शुरु

बिराटनगर, ७ फागुन ।  प्रदेश नं १ ले दादुरा रुवेला खोप अभियान मंगलबारबाट शुरु गरेको छ । यो खोप अभियान १ फागुनबाट शुरु गर्ने पूर्व तालिक रहेपनि सोही समयमा कतिपय जिल्लामा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम परेपछि दादुरा रुवेला विरुद्धको खोप अभियानको तालिका केही ढिला भएको हो ।

अभियान अन्तरगर्त अन्तर्गत प्रदेशभरिमा दादुरा रुबेला चार लाख २७ हजार १२ बालबालिकालाई र पोलियो तीन लाख पाँच हजार ३४२ बालबालिकालाई दुई चरणमा खुवाउने स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहताले जानकारी दिए । उनले यसका लागि आठ हजार १५२ खोप केन्द्र, त्यति नै सङ्ख्यामा स्वास्थ्यकर्मी र १६ हजार ३०४ स्वयंसेवक परिचालन हुने बताए ।

मोरङमा दादुरा रुबेला ९२ हजार ८०५ जनालाई र पोलियो एक लाख नौ हजार ९२९ जनालाई खुवाउने र यसका लागि खोप केन्द्र ९००, स्वयंसेवक एक हजार ८०० र स्वास्थ्यकर्मी ९०० परिचालन गर्ने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

मोरङमा यो अभियान दुई चरणको कार्यक्रमअनुसार आठ स्थानीय तहलाई ६ फागुन देखि १४ फागुनसम्म र दोस्रो चरणमा नौ स्थानीय तहलाई फागुन १६ देखि २४ गतेसम्म चल्ने बताइएको छ । पोलियो सुनसरी, मोरङ र झापामा मात्र खुवाउने कार्यक्रम छ ।

अभियानमा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप दिइदै छ ।

यसैबीच प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार मोरङको कटहरीमा स्थानीय दुई वर्ष चार महिनाकी बालिका नित्या साहलाई पोलियो थोपा खुवाउँदै दादुरा रुबेला खोप अभियान तथा नियमित खोप कार्यक्रम–२०७६ को शुभारम्भ गरे ।

सो अवसरमा मन्त्री घिमिरेले भविष्यका कर्णधार बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधिले साथ दिनुपर्ने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका भरत भण्डारी, कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले पनि यो अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *