संसदलाई स्वास्थ्यमन्त्रीको जानकारी : चीनबाट नेपालीलाई छिटै ल्याइन्छ

काठमाडौँ, २१ माघ ।  सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको बताएको छ ।

मंगलबार व्यवस्थापिका संसद अन्तरगर्त प्रतिधिधि सभामा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सो जानकारी दिएका हुन् ।

उनले चीनस्थित नेपाली दुतावासले कोरोनाभाइरस अति प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेकाहरुलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाएको र पहिलो चरणमा १८० जना नेपालीले फारम भरेको समेत जानकारी दिए ।

‘ढिलो भएको छैन् । हामीले सावधानीपूर्वक र गम्भीरताका साथ काम गरिरहेका छौँ । उता दुतावासले तयारी सकेपछि उहाँहरुलाई ल्याईहाल्ने हो,’ मन्त्री ढकालले भने ।

उनले चीनमा स्वास्थ्य परीक्षण गरेर पास भएका नेपालीलाई मात्रै स्वदेश फर्काइने स्पष्ट पार्दै यहाँ ल्याएर पनि दुई सातासम्म क्वारेन्टाइनमा रहनुपर्ने बताए । त्यसका लागि हिजोको मन्त्रिपरिषद बैठकले संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्तरगर्त सरकारले आदेश जारी गर्ने निर्णय भएको उनले जानकारी दिए । यो आदेशले सरकारले संक्रामक रोग रोक्नका लागि आवश्यक नागरिकलाई क्वारेन्टाइनमा राख्न सक्नेछ ।

मन्त्री ढकालले क्वारेन्टाइनका लागि सरकारले उयुक्त स्थान छनौट गर्नेक्रममा पनि अन्तिम चरणमा पुगेको भन्दै चीनबाट काम सकियो भन्नासाथ यता पनि त्यसको निर्णय भइसक्ने बताए । ‘अहिले हामीले नयाँ क्वारेन्टाइन बनाउने होइन । बनिसकेको पूर्वाधारमै व्यवस्थापन गर्ने हो । त्यसका लागि खासै समस्या छैन,’ उनले संसदलाई स्पष्ट पारे ।

मन्त्री ढकालले सम्भावित जोखिमलाई मध्यनजर गरी तीनवटा अस्पतालमा ४३ वटा शैया आइसोलेसन वार्ड बनाएको समेत बताए ।
उनले सरकार सबैको अभिभावक रहेको भन्दै चीनमा समस्यामा पर्ने सबैलाई आवश्यक परे उद्धार गर्ने बताए ।

उनले चीन संक्रमणको चपेटामा परेको भन्दै उसले जसरी नेपालले गर्नुपर्छ भन्ने तर्क सान्दर्भिक नभएको बताए ।’ हामीले सम्भावित जोखिम र सतर्कताका लागि काम गरिरहेका छौँ । चीनमा धेरै जनाको ज्यान गइसकेको छ र हजारौँ संक्रमण परिरहेका छन् । तर यहाँ त त्यो छैन । त्यसैले चीनकै तालमा हामी आत्तिनु जरुरी छैन,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *