चीनमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा बालुवाटारमा उच्चस्तरीय बैठक

काठमाडौँ, १८ माघ । चीनमा रहेका नेपालीलाई उद्धार गरी नेपाल ल्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक शुरु भएको छ । केहीबेर अघि देखि शुरु भएको बैठकमा  उद्धारको संख्या, उद्धारको मिति,  उद्धार गरेर ल्याइसकेपछि कहाँ राख्ने ? लगायतका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई लगायतका मन्त्री तथा सम्वन्धीत मन्त्रालयका सचिवहरुको सहभागिता छ ।

‘नेपालीलाई स्वदेश ल्याउने भन्ने कुरा निश्चित भइसकेको छ । तर कसरी कहिले र ल्याइसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उच्चस्तरीय छलफल हो,’ स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनीले बताए ।

यसअघि स्वास्थ्यले चीनबाट ल्याइने नेपालीलाई दुई सातासम्म इन्कुभेसन पिरियड भर छुट्टै क्याम्पमा राख्ने विषयसमेत विभिन्न विकल्पहरुको बारेमा अध्ययन गरी प्रधानमन्त्री कार्यालयलाई समेत सो को जानकारी गराएको छ ।

उता बेईजिङ स्थित नेपाली दुताबासले एउटा फारम बनाएर नेपाल फर्कन चाहने नेपालीले आइतबार ९ बजे भित्रै भरी पठाउन चीनमा रहेका नेपालीलाई अनुरोध गरेको छ । उनले हवाईजहाज चार्टर गरेर नेपालीलाई स्वदेश फर्काउने योजना अघि बढेको भन्दै नेपाल फर्कने चाहनेसंग विवरण माग गरेको हो ।

नयाँ कोरोनाभाइरसको उदगमथलो मानिएको हुवे प्रान्तमा मात्रै १७७ जना नेपाली रहेको प्रारम्भिक विवरण आएको छ । यद्धपी कतिपयले सो संख्या २०० नाघ्न सक्ने बताएका छन् । बेईजिङस्थित नेपाली दुतावासले सोही एकीन गर्न विवरण मागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *