नगरपालिकाबाट हेल्थअसिस्टेण्ट र स्टाफ नर्स कक्षा सञ्चालन

दीपशङ्कर चौलागाईँ


दोलखा, १० माघ । निःशुल्क रुपमा १५ हजार ८०० बिरामीको शल्यक्रिया गरी सम्भवतः देशकै नमूना बन्न प्रस्तावित चरीकोट अस्पताल सफल भएको छ । चार वर्षका अवधिमा पोसिबल हेल्थ नामक अमेरिकी संस्थाको आर्थिक सहयोगमा न्याय हेल्थ नेपालले दोलखाको सदरमुकाम चरीकोटस्थित प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित चरीकोट अस्पतालका रुपमा सञ्चालन गर्दै आएको छ ।

नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै हजारौँको जटिल शल्यक्रियासमेत गरी देशकै नमूना बन्न प्रस्तावित अस्पताल सफल भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । नगर प्रमुख केसीले अस्पतालमा आइसियु, सिटी स्क्यान र एमआरआईको व्यवस्था गरी एक सय शय्याको बनाउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनी भनछन्, “यो अस्पताललाई मेडिकल कलेज बनाउन नगरपालिकाले काम शुरु गरिसकेको छ । आगामी वर्षदेखि नगरपालिकाले हेल्थअसिटेण्ट र स्टाफ नर्स तहका कक्षा सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख केसीको भनाइ छ ।

न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा विनोद दङ्गालले चार वर्षमा दुई लाख २८ हजार ३७ बिरामीलाई ओपिडी सेवा दिइएको र १५ हजार ८०७ जनाको शल्यक्रियासहितको उपचार गरिएकामा ९४० गम्भीर प्रकृतिका शल्यक्रिया भएको जानकारी दिए । उनले भने, “चरीकोट अस्पतालले निकै जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै गर्न सफल भएको छ ।”

अस्पतालका डा हिमसहिल खड्काले ओपिडीमा आएका दुई लाख २८ हजार ३७ बिरामीमध्ये सात हजार ९९० लाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको बताउनुभयो । चार वर्षका अवधिमा तीन हजार १५५ जनालाई सुरक्षित सुत्केरी गराइएकामा ३९५ जना शल्यक्रियामार्फत सुत्केरी भएको जनाइएको छ । अस्पतालमा सो अवधिमा दुई लाख ८१ हजार ७४२ जनाको प्रयोगशाला परीक्षण र चार हजार ५५४ जनाको दाँतको उपचार भएको छ । अहिलेसम्म चार हजार ६१६ जनाले अस्पतालमा आएर स्थायी बन्ध्याकरण गराएका छन् । अस्पतालले बिरामीको सम्पूर्ण उपचार र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

विभिन्न जटिल तथा सामान्य प्रकृतिका उपचार अस्पतालमा हुने भएपछि आसपासका जिल्लाबाट साथसाथै दुर्गम जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । अस्पतालले डिजिटल माध्यम प्रयोग गरी कागजविहीन प्रणालीसमेत प्रयोेगमा ल्याएको छ जसमा बिरामीको सम्पूर्ण विवरण राखिएको हुन्छ ।

दोलखा र आसपासका जिल्लाबाट आउने बिरामीले संस्थाबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवा निःशुल्क रुपमा लिइरहेका छन् । ठूला शहर गई महंँगा अस्पतालमा खर्च उठाउन नसक्ने गरीब सर्वसाधारणका लागि न्याय हेल्थ नेपाल बिरामीको वरदानका रुपमा नै सावित भएको छ ।
संस्थाले तत्कालै नगरपालिकाको सहयोगमा ‘हाइ डिपेन्डेन्सी युनिट’ पनि सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले यसै सालदेखि एचआइभी एड्सका बिरामीका लागि पनि निःशुल्क औषधि वितरण गर्ने गरी एआरटी सेण्टर सञ्चालनमा ल्याएको छ । न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा सञ्चालन गर्दा चार वर्षमा रु ४० करोड खर्च गरिएको जनाएको छ । भूकम्पले ध्वस्त बनाएका दोलखाका विभिन्न स्वास्थ्यचौकीको पुनःनिर्माण, अस्पताल सञ्चालन र सामुदायिक स्वास्थ्य कार्यक्रममा खर्च भएको न्याय हेल्थ नेपालका वरिष्ठ लेखा अधिकृत गोपी श्रेष्ठले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *