नियमविपरीत सूर्तिजन्य पदार्थ बिक्री गर्दै विमानस्थल भन्सार कार्यालय

काठमाडौँ, २८ पुस ।  अनाधिकृत रुपमा नेपाल भित्र्याइएको भन्दै हवाई यात्रुसंग जफथ गरिएका मापदण्ड विपरितका सूर्तिजन्य पदार्थ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नै कानून विपरित विक्री गर्ने तयारी गरेको छ ।

भन्सार कार्यालयले जफथ गरिएका ७ हजार ५८५भनिएका विभिन्न सूर्तिजन्य पदार्थलाई न्यूनतम मूल्य ४४ लाख ३७ हजार २२५ रुपैयाँ कायम गरी लिलाम बढाबढ पद्धतीबाट बिक्री गर्ने सूचना निकालेको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन २०६८ को दफा ९ को उपदफा (३) अनुसार ती सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न मिल्दैन । उपदफा ३ मा आयातकर्ताले उपदफा १ बमोजिमको मापदण्ड पुरा नभएको सूर्तिजन्य पदार्थ आयात गर्न पाउने छैन भनिएको छ । र उपदफा १ मा सूर्तिजन्य पदार्थको प्याकेटमा राख्नुपर्ने चेतावनीमुलक स्वास्थ्य सन्देश तोकिएको साइजमा नेपाली भाषामा प्रष्टसंग अंकित गर्नुपर्ने उल्लेख छ ।

सो ऐनको दफा ९ (१)ले सूर्तिजन्य पदार्थको प्याकेटको कुलमध्ये ७५ प्रतिशत भागमो चेतावनीमुलक चित्र हुनुपर्ने भनिएको छ । सोही ऐनको दफा ९ (२) चेतावनीमुलक सन्देश तथा संकेत चिन्ह समय समयमा थप गर्न सक्नेछ भनिएको छ ।

सोही अनुसार सरकारले २०७१ सालमा नै सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, रयापर्स, पेटी, तथा पार्सल, प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका ल्याएको छ र त्यसले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक चित्रअंकित सन्देश हुनु पर्ने उल्लेख गरेको छ । सो अनुसार नभएको सूर्तिजन्य पदार्थ अवैध भनेको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन २०६८ को दफा २१ ले त्यस्ता मापदण्ड विपरितका सूर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने उल्लेख छ । तर विमानस्थल भन्सार कार्यालयले भने ती सूर्तिजन्य पदार्थहरु लिलाम बढाबढमा लिलाम विक्री गर्ने सूचना निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानूनका उपसचिव पुष्करराज नेपालले जफत गरिएका सूर्तिजन्य पदार्थ पुर्न विक्री गर्न नमिल्ने बताउँछन् । ‘सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनले जफत गरिएका सूर्तिजन्य पदार्थ विक्री गर्न होइन नष्ट गर्न भएको छ । त्यसका लागि निरीक्षक समेत तोकिएको छ । यस्ता पदार्थ निरीक्षकले हेरेर नष्ट गर्नुपर्ने हो । मानव स्वास्थ्यमा हानी गर्ने यस्ता पदार्थ विक्री वितरण गर्नु सूचना निकाल्नु कानून विपरित हो । मन्त्रालयले यसबारेमा भन्सार कार्यालयको ध्यानाकर्षण गराउनेछ,’ उनले भने ।

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा सक्रिय संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द सूर्ति नियन्त्रण सम्वन्धी ऐनको दफा ९ (१) र (३)को व्यवस्था विरुद्ध हुने गरी र सोही ऐनको दफा २१ विपरित हुने गरी सरकार आफैले कानूनको खिल्ली उडाउन लागेको बताए ।

‘खासमा सूर्तिजन्य पदार्थको आयात गर्न पनि कानूनले स्पष्ट व्यवस्था गरेको छ । त्यस विपरित ल्याइएका सूर्तिजन्य पदार्थ स्वत मापदण्ड विपरित हुन्छ । र त्यो जफत गरिएका सामान नष्ट गर्नुपर्छ । तर यहाँ लिलाममा राखेर सरकारले जनस्वास्थ्य प्रतिको अज्ञानता मात्रै होईन कानुनको समेत उल्लंघन गरेको छ । यसलाई तत्काल सच्याउनुपर्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नियमविपरीत सूर्तिजन्य पदार्थ बिक्री गर्दै विमानस्थल भन्सार कार्यालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *