जीन सम्पादन गरेर बच्चा जन्माउने वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय

बीबीसी । पहिलो पटक सम्पादित जीनसहित बच्चाहरूको जन्म गराएको दाबी गर्ने एक वैज्ञानिकलाई चीनमा तीन वर्ष जेल सजाय सुनाइएको छ। ख जिएन्क्वे नामक ती वैज्ञानिकले एआईभीको सङ्क्रमणबाट जोगिने गुण विकास गर्न भ्रूणको जीन सम्पादन गरी बच्चा जन्माएको बताएका थिए।

चीनको एउटा अदालतले मानवभ्रूणमा आफूखुसी प्रयोग गर्न लगाइएको प्रतिबन्धको खले उल्लङ्घन गरेको ठहर गरेको छ।

गत वर्ष नोभेम्बरमा उनले ती जुम्ल्याहाको जन्म भएको घोषणा गर्दा संसारभरिबाट उनको आलोचना भएको थियो। समाचारसंस्था सिन्ह्वाका अनुसार त्यही बेला अर्को बच्चाको पनि जन्म भएको थियो। उक्त कुराको पहिला पुष्टि भएको थिएन।  ग्वाङ्डोङ प्रान्तस्थित स्थानीय सरकारले ती बच्चाहरूलाई चिकित्सकीय निगरानीमा राखेको छ।

अदालतको आदेशमा जेल सजायबाहेक उनले ३० लाख यूआन अर्थात् झन्डै चार करोड ९० लाख रुपैयाँ जरिबाना तिर्नुपर्ने उल्लेख छ। अदालतले उनीसँग मिलोमतो गरेको ठहर गर्दै अरू दुई जनालाई पनि छोटो अवधिका लागि जेल सजाय सुनाएको छ।

सिन्ह्वाका अनुसार शन्जनस्थित अदालतले अभियुक्तहरूले ‘व्यक्तिगत प्रख्याति र लाभ’का लागि काम गरेको र ‘चिकित्सकीय सुव्यवस्था बिथोलेको’ ठहर गरेको छ।

अदातलका अनुसार ती प्रयोग गर्दा उनीहरूले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय आचारसंहिताको आधारबिन्दु नै उल्लङ्घन गरेका थिए।

गत वर्ष के भएको थियो ?
नोभेम्बर २०१८ मा ख जिएन्क्वेले जीन सम्पादन गरिएका लुला र नाना नामक जुम्ल्याहा बालिकाको जन्म भएको एउटा भिडिओमार्फत् घोषणा गरेका थिए। त्यो भिडिओ समाचारसंस्था एपीले खिचेको थियो।

आफ्नो प्रयोगबारे उनले भनेका थिए, ‘मलाई थाहा छ मेरो काम विवादास्पद हुन्छ। तर मलाई लाग्छ परिवारहरूका लागि यो प्रविधि आवश्यक छ र म उनीहरूका लागि आलोचना खेप्न तयार छु।’

भिडिओ सार्वजनिक भएपछि चीन र अन्य देशका वैज्ञानिकहरूले खको व्यापक आलोचना गरे। चीनको प्रहरीले उनको दाबीको विषयमा छानबिन थाल्यो र सरकारले उनको अनुसन्धान रोक्न आदेश दियो। उनी कार्यरत सदर्न यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजीले उनलाई निकालिदियो।

चाइनिज अक्याडमी अफ साइन्सले एउटा विज्ञप्तिमा मानवमा जीन सम्पादन गर्ने विषयको कडा विरोध गर्‍यो।

उनले के गर्न खोजेका थिए ?
खको प्रयोग सीसीआर५ नामक जीनमा केन्द्रित थियो।  सो जीनमा रोगप्रतिरोध प्रणालीको क्षमताबारे महत्त्वपूर्ण सूचनाहरू हुन्छन्। तर सोही जीनको सहायतामा एचआईभीले मानवको शरीरमा भएका कोषमा प्रवेश गर्छ।

सीसीआर५ मा परिवर्तन गर्दा त्यो बाटो बन्द हुन्छ र त्यसबाट एचआईभीलाई प्रतिरोध गराउने क्षमता मानिसमा विकसित हुन्छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले सात जोडीलाई आफ्नो कामका लागि राजी गराएका थिए। उनीहरूमध्ये सबै पुरुषलाई एचआईभी भएको थियो भने महिलाहरू एचआईभीमुक्त थिए।

कृत्रिम गर्भाधान गराउने चिकित्सालयमा मानवभ्रूण विकसित गरेर तिनको सीसीआर५ जीनमा परिवर्तन गर्न खोजियो।

आचारसंहिताको अनिवार्य समीक्षाका लागि उनले जाली कागजपत्र पेस गरे तथा चिकित्सकहरूलाई सम्पादित जीन भएका भ्रूण दुई महिलाको गर्भाशयमा राख्न लगाउन गलत जानकारी दिए।

सम्पादित जीन भएका बच्चाको गत वर्ष जन्म भयो।

बच्चालाई कस्तो असर ?
जीन सम्पादन गर्दा ती बच्चाको आनुवंशिक संरचनामा म्यूटेशन अर्थात् अनपेक्षित विकृति उत्पन्न भएको छ।

सम्पादित जीन भएका बच्चामा कस्तो कस्तो प्रभाव पर्छ भन्ने अहिले अस्पष्ट नै छ। तर ती असरहरू दीर्घकालीन हुन सक्छन्।

ती बच्चाहरूले पछि सन्तान जन्माए भने आनुवंशिक संरचनामा भएको परिवर्तन तिनका सन्तानमा पनि सर्न सक्छ। त्यसले मानवजातिको आनुवंशिक संरचनामै परिवर्तन गरिदिन सक्छ।

खको प्रयोगमा यो विषय झन् जटिल देखिएको छ।

यो महिनाको पूर्वार्धमा खको अनुसन्धान पहिलो पटक प्रकाशित भएको थियो। तर वैज्ञानिकहरूका अनुसार खले आफूले गरेको भनेजस्तो परिणाममा देखिएको छैन।

उनीहरूका अनुसार खले सही जीनलाई लक्ष्य गरेको भए पनि एचआईभी प्रतिरोध गर्न सक्ने क्षमता विकसित भएन। बरु उनको प्रयोगबाट आनुवंशिक संरचनामा पहिला नदेखिएको परिवर्तन भयो।

यूकेस्थिति फ्रान्सिस क्रिक इन्स्टिस्यूटका प्राध्यापक रोबिन लोभल – ब्याजले बीबीसी न्यूजलाई भनेअनुसार त्यसको प्रभाव कस्तो हुन्छ त्यो भन्न सकिँदैन।

‘ती विशेष म्यूटेशनबारे कुनै अध्ययन भएको छैन किन भने ती पहिला अस्तित्वमा थिएनन्,’ उनले भने।

‘उनी धेरै मूर्ख थिए। उनलाई आफूलाई राम्ररी थाहा छ भन्ने लाग्यो। तर सुरक्षित र प्रभावकारी रूपमा ‘जीनोम सम्पादने गर्न प्रविधि अझै बनिसकेको छैन।’

प्राध्यापक लोभल-ब्याजका अनुसार दीर्घकालीन प्रभाव देखिन अझै बाँकी भए पनि अहिलेका लागि ती तीन बच्चा स्वस्थ हुन्छन् कि हुँदैनन् र उचित स्याहारसुसार पाउँछन् कि पाउँदैनन् भन्ने मुख्य चासो हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *