पश्चिम एसिया युद्धको असर: कच्चा पदार्थ आपूर्तिमा कठिनाइ, औषधी महँगिने डर

नयाँ दिल्ली । हरियाणाको सोनीपत जिल्लास्थित राय औद्योगिक क्षेत्रमा रहेको आफ्नो औषधी उद्योगमा बसेर निश्चल प्रुथी आफ्नो छोरासँग टेलिभिजनमा अमेरिका–इरान द्वन्द्व र हर्मुज मार्ग बन्द भएको अवस्थाबारे अपडेट हेरिरहेका छन्।
औषधी उत्पादन केन्द्रको रूपमा चिनिने यस क्षेत्रमा रहेको अफलाटस फार्मास्युटिकल्स प्रा. लिका सञ्चालक प्रुथीका लागि, संकटको प्रत्येक दिनले कच्चा पदार्थ ढिलो आइपुग्ने र लागत बढ्ने समस्याले कारखाना सञ्चालनमा असर पारेको छ।
उनका अनुसार, “प्यारासिटामोलको कच्चा पदार्थको मूल्य प्रति किलो २०० रुपैयाँबाट ८०० रुपैयाँ पुगेको छ, जुन चार गुणा वृद्धि हो।
त्यस्तै डिक्लोफेनाक (सामान्य दुखाइ, माइग्रेन र गठियाका लागि प्रयोग हुने औषधी ) को मूल्य ६०० रुपैयाँबाट ९५० रुपैयाँ पुगेको छ।” उनीजस्ता साना उत्पादकहरूले ठूला कम्पनीहरूलाई आपूर्ति गर्ने र सरकारका जेनेरिक औषधी कार्यक्रमहरूलाई सहयोग गर्ने गर्छन्।
ढुवानी मार्गमा आएको अवरोधका कारण भारतका साना औषधी उत्पादकहरूको कच्चा पदार्थ लागत तीव्र रूपमा बढेको छ र आपूर्ति अनिश्चित बनेको छ।
इसोप्रोपाइल अल्कोहल र मेथिलिन डाइक्लोराइड जस्ता महत्त्वपूर्ण कच्चा पदार्थहरूको आपूर्ति हर्मुज जलडमरू हुँदै हुने भएकाले समस्या अझ बढेको छ।
श्रृंखलाबद्ध प्रभाव
यद्यपि ढुवानी मार्ग तुरुन्तै खुल्यो भने पनि उत्पादन तत्काल सामान्य हुँदैन। “कच्चा पदार्थ खरिद, परीक्षण र उत्पादन प्रक्रियामा १५–२० दिन लाग्छ। हामी सामान्यतया एकदेखि डेढ महिना अगाडिको योजना बनाउँछौँ,” प्रुथी भन्छन्। तर मूल्यको तीव्र उतारचढाव र आपूर्तिको अनिश्चितताले योजना बनाउन कठिन बनाएको छ।
राय औद्योगिक क्षेत्रमा रहेका ३५ औषधि उत्पादकमध्ये एक प्रुथीको उद्योगमा एन्टिबायोटिक, सिरप, इन्जेक्सनलगायतका औषधी उत्पादन हुन्छन्। “व्यवसाय सुस्त भएको छ र उत्पादन करिब ४० प्रतिशतले घटेको छ,” उनले बताए। यसको असर अन्ततः उपभोक्तामा पर्ने उनी बताउँछन्।
उद्योगभरि नै साना तथा मझौला उत्पादकहरू (जसले भारतका करिब १० हजार ५०० औषधि उद्योगमध्ये ६० प्रतिशत हिस्सा ओगटेका छन्) दबाबमा छन्। “ब्रान्डेड औषधीको मूल्य पहिले नै १५–२० प्रतिशत बढिसकेको छ, र मार्चदेखि समग्र लागत ३०–४० प्रतिशत बढेको छ,” प्रुथी भन्छन्।
लागतमा तीव्र वृद्धि
एन्टिबायोटिक सेफ्ट्रियाक्सोनको कच्चा पदार्थ मूल्य करिब ६ हजार रुपैयाँ प्रति किलोबाट ७ हजार ८०० रुपैयाँ पुगेको छ भने मेरोपेनेमको मूल्य ३१ हजार बाट ४८ हजार रुपैयाँ प्रति किलो पुगेको छ।
मार्चको सुरुदेखि मूल्य बढ्न थालेको हो र अझै स्थिर छैन। “अर्डर कन्फर्म गर्न ढिलाइ भए पनि मूल्य फेरिन्छ,” प्रुथी भन्छन्।
व्यापारी र आयातकर्ताहरूले स्टक रोकिराख्दा बजारमा अभाव झन् बढेको छ।
श्रमिक अभावले पनि समस्या थपिएको छ। उनका १७० कामदारमध्ये धेरै, विशेष गरी बाहिरबाट आएका कामदारहरू, अनिश्चितताका कारण काम छाडेर गएका छन्।
‘उत्पादन लाइनमा दुई जना कामदार कम भए पनि पूरै प्रक्रिया प्रभावित हुन्छ,’ उनले बताए।
फार्मेक्सिलको एमएसएमई प्यानलका अध्यक्ष निपुण जैनका अनुसार, औषधी निर्माणमा प्रयोग हुने सक्रिय औषधी तत्व (एपीआई) र प्याकेजिङ सामग्रीको मूल्य २.५ गुणासम्म बढेको छ। “पहिले १०० रुपैयाँ पर्ने सामग्री अहिले ३०० रुपैयाँ पुगेको छ। यस्तो अवस्थामा औषधीको मूल्य बढ्नु अपरिहार्य हुन्छ,” उनले भने।
मध्य प्रदेश साना औषधी उत्पादक संघका डा. दर्शन कटारियाले पनि संकटले कच्चा पदार्थको उपलब्धता र मूल्य दुवैमा असर पारेको बताए। एसीटोन, मेथानोल र इसोप्रोपाइल अल्कोहलजस्ता सोल्भेन्टहरूको आपूर्ति प्रभावित भएको छ।
-द इन्डियन एक्सप्रेस
सम्पर्क इमेल : [email protected]








