पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आँउदै

झापा, ११ पुस । पूर्व क्षेत्रका क्यान्सर विरामीलाई लक्षित गरी भद्रपूरमा स्थापना गरिएको पूर्वाञ्चल अस्पताल एक साता भित्रै सञ्चालनमा आउने भएको छ ।

बीएण्डसी अस्पतालकै लगानीकर्ताले स्थापना गरेको सो अस्पताल अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिख अर्थात् आगामी १६ पुस देखि सञ्चालनमा आउने भएको हो । क्यान्सर अस्पताल बीएण्डसी अस्पतालकै हाता भित्र निर्माण गरिएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले ३०० श्ययाको अस्पतालले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिए । उनले यो क्यान्सर अस्पताल दक्षिण एसियामै पहिलो अत्याधुनिक प्रविधिको सहितको अस्पताल भएको दावी गरे ।

चार अर्व लगानीमा स्थापना गरिएको यो अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘टुबिम लिनियर एक्सेलेरेटर’ मेसिन पहिलो पटक नेपाल भित्र्याइएको कार्यकारी निर्देशक प्रसाईंले बताए। उनले सेवा आरम्भ गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने प्रसाईंले जानकारी दिए ।  नेपालका विभिन्न क्षेत्रसँगै भारत, बंगलादेश भुटानसहित दक्षिण एसिया नै अस्पतालको सेवा क्षेत्र रहेको उनको भनाइ छ।

अस्पतालका मेडिकल डाइरेक्टर डा बीरेन्द्र यादवले क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको जानकारी दिए। ‘यो अत्याधुनिक प्रविधि पछि यसैका लागि भारतको दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता हटेको छ अब झापामै सेवा पाइन्छ।’

अस्पतालमा महिलाको स्तन क्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधिसहितको डिजिटल थ्रिडी म्यामोग्रामसमेत ल्याइएको छ। शल्यक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष रहेको जनाइएको छ। क्यान्सर अस्पतालले क्यान्सरको उपचारमा प्रयोग हुने बिम लिनर एक्सिलेरेटर, ब्रेकी थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर–डी सिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानलगायत उपकरण अस्पतालमा जडान भइसकेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *