चिकित्सा शिक्षा आयोगका पदाधिकारी पर्खंदै छन् ‘लग्जरियस’ गाडी

काठमाडौँ, १६ भदौ । चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अत्तोपत्तो छैन तर उनीहरुका लागि भनेर किनिएका आठ वटा गाडी डेढ महिना देखि थन्किएका छन् । सानोठिमीस्थित शिक्षा तथा मानवस्रोत विकास केन्द्र परिसरमा थन्क्याइएका ती गाडी नबिग्रियोस भनेर दुई जना चालकले हरेक विहान स्टार्टसम्म गर्ने गरेका छन् ।

कर्मचारीका लागि १५ सिटे माईक्रोबस पनि किनिएको छ तर त्यहाँ खटाइएका चालकसंग कार मात्र चलाउनसक्ने अनुभव भएकाले माइक्रोबस चलाउन आँट नगर्दा राष्ट्रिय परीक्षा बोर्डले आफ्ना कर्मचारीलाई ओसार्ने गरेका बसबाटै आयोगका कर्मचारी पनि यात्रा गर्ने गरेका छन् ।

आयोगका सदस्यसचिव चन्द्रकान्त भुसालले भने, ‘पदाधिकारीहरु आउनासाथ गाडी चाहिन्छ भनेर पहिले नै किनेर व्यवस्थापन गरेका हौँ । गाडी प्रयोगमा आउन नसक्दा विग्रनसक्ने भएकाले हरेक दिन एक छिन स्टार्ट गर्ने गरेका छौँ ।’

गत आर्थिक बर्षबाट करारमा दुई जना चालक राखिएको छ । एक जनाले सदस्य सचिवको गाडी चलाउछन भने अर्का चालकलाई थन्क्याइएका ती गाडी दैनिक स्टार्ट गरेर बन्द गर्ने जिम्मेवारी दिइएको छ ।

आयोगका उपाध्यक्षका लागि सबैभन्दा महंगो गाडी किनिएको छ । स्पोर्टेज गाडी करिव १ करोड रुपैयाँ पर्दछ । सबै गाडी खरिद गर्दा करीब ५ करोड खर्च भएको कर्मचारी बताउँछन् । गाडी गत असारको अन्तिम साता खरीद गरिएका हुन् ।

एउटा गाडी उपाध्यक्षका लागि, चारवटा गाडी चार जना निर्देशकका लागि, एउटा गाडी सदस्य सचिवका लागि किनिएको हो भने, एउटा गाडी अतिरिक्त र एउटा माईक्रोबस कर्मचारीका लागि किनिएको हो । सदस्य सचिवका लागि किनिएको गाडीमात्र हाल प्रयोगमा आएको छ ।

आयोगले ७१ कर्मचारीका लागि दरबन्दी माग गरेको छ । अहिले शिक्षा तर्फका १४ जना अस्थायी दरबन्दी त्यहाँ लगिएको छ । सदस्यसचिव भुसालले भने, ‘आवश्यक सबै कर्मचारी उपलव्ध हुँदा हाल भएका गाडीले पुग्दैन्, त्यसैले अझै गाडी आवश्यक छ भनेका छौँ ।’  हाल चार जना उपसचिव र पाँच जना अधिकृत छन् भने स्वकीत भएको अस्थायी दरबनदीका पाँच जना प्राविधिक सहायक खटिएका छैनन् ।

लोक सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषदले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ । हाल तीन जनाको नाम सिफारिस भइसके पनि उनीहरुको योग्यतालाई लिएर सञ्चारमाध्यममा विभिन्न खाले समाचार आईरहेका छन् । त्यसैले उपाध्यक्षको नियुक्ती अलमलमै छ । उपाध्यक्षको नियुक्तिलाई पर्खिएर आयोगका कर्मचारीहरु बसेका छन् ।

उपाध्यक्षको नियुक्ति नहुञ्जेल कार्यकारी समिति गठन हुँन सक्दैन सदस्यसचिव भुसालले थपे कार्यकारी निकाय नहुँदासम्म आयोगले काम गर्न सक्दैन । राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा गठन हुने सिफारिस समिति समितिले चार जना निर्देशक छनौट गर्ने र सोही सिफारिसका आधारमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले उनीहरुलाई नियुक्त गर्ने प्रावधान छ ।

उपाध्यक्ष नै नभएकाले निर्देशक छनौटका लागि सिफारिस समिति गठन भएको छैन । आयोगको कार्यकारी समितिमा दुई जना सदस्य पनि रहने व्यवस्था छ । ती सदस्यहरुलाई आयोगका अध्यक्ष रहेका प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गर्ने कानूनी व्यवस्था छ । ती दुई सदस्यका लागि गाडीको व्यवस्था गरिएको छैन ।

‘सदस्यहरुलाई गाडी दिनु पर्ने हो वा होइन भन्ने अहिले नै यकिन गर्न सकिएन । पछि नै टुंगो लाग्ला, त्यसैले उनीहरुका लागि गाडी किनिएको छैन,’ सदस्य सचिव भुसालले भने ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको भवनमा सातवटा कोठा लिएर हाल काम चलाउनु परेको आयोगका कर्मचारीहरु बताउँछन् । आयोगमा अध्यक्ष र सदस्य सचिव सहित २९ सदस्य रहने व्यवस्था छ ।

अधिकांश सदस्यको पद पदेन छ । मनोनित हुने सदस्यहरुको मनोनयन प्रधानमन्त्रीले गर्ने व्यवस्था छ भने उनीहरुको पदावधि चार बर्षको हुने र अर्को एक कार्यकालका लागि पुन मनोनयन हुनसक्ने प्रावधान छ ।

  • गोरखापत्रमा प्रकृति अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकित्सा शिक्षा आयोगका पदाधिकारी पर्खंदै छन् ‘लग्जरियस’ गाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *