समायोजनमा सकस : सामान्यले पठाएको सूची अनुसार नै अहेव र अनमीको पत्र पठाइदै

काठमाडौँ, १४ भदौ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यसअघि पठाएकै सूची अनुसार अहेव अनमी कविराज बैद्य लगायतका पदको समायोजन हुने भएको छ ।

त्यसबेला सामान्यले पठाएको सूचीमा धेरै नै त्रुटि देखिएको भन्दै स्वास्थ्यले सार्वजनिक समेत गरेको थिएन ।

अझ त्यस अघि सार्वजनिक गरिएको सूचीमा धेरै जनाको पद, समूह र भुगोल नमिलेको गुनासो आएपछि सामान्य र स्वास्थ्यले त्यस्ता कर्मचारीसंग निवेदन मागेको थियो । त्यसमा ८ हजार ४ सय बढी कर्मचारीले गुनासो हालेका थिए ।
‘तर सामान्यको पछिल्लो निर्णयले निवेदन दिएका अधिकांश कर्मचारीको माग सम्वोधन गर्ने छैन,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नेपाली हेल्थसंग भने ।

उनले अगाडी थपे, ‘ढिलै भएपनि माथिल्ला पदहरु मिलाएरै समायोजन भएको थियो तर अब हुने समायोजनले अलि कति अफ्टेरो पर्ने देखिन्छ ।’

निकै ढिलो शुरु भएको स्वास्थ्यको समायोजनले बीचमा केही गति पक्डेको जस्तो देखिएको थियो । तर, ठूलो संख्या भएको अनमी, अहेव, हेल्थ असिस्टेन्ट, बैद्य कविराज लगायतका पदहरुको समायोजनमा अब फेरी विदाद हुने सम्भावना देखिएको छ ।

‘मन्त्रालयकै निर्णयबाट अहेवहरु, सीअहेव भएका छन, कोही एचएको पदनाम पाएका छन् । बैद्यहरु कविराजको पदनाम पाएर बढुवा भएर जागिर खाएको धेरै बर्ष भईसक्यो तर सामान्यले उनीहरुलाई पुरानै पदमा फिर्ता गर्न भनेको छ । अर्थात एचए पदनाम पाएर गएकाहरु अहेवमै,कविराज पदनाम पाएकाहरु बैद्यमै झर्नुपर्ने स्थिति देखियो, यसले स्वास्थ्यकर्मीको मनोवल कस्तो होला ? ,’ मन्त्रालयका ती अधिकारीले अगाडी थपे, ‘यसले कर्मचारीको पदस्थापन र संस्थाको नेतृत्वमा समेत असर पार्ने निश्चित छ ।’

गुनासो सम्वोधन सबैको नहुने ?
‘अघिल्लो पटक समायोजनमा धरै कर्मचारीको पदनाम, भुगोल लगायतका विषय बिग्रिएको थाह भएपछि सामान्य र स्वास्थ्य मन्त्रालयले त्यसलाई मिलाउने भन्दै गुनासो (निवेदन) माग गरेको थियो । तर अब त्यो गुनासो पनि पूर्ण रुपमा लागू नहुने देखिएको छ । ८ हजार ४ सय जति कर्मचारीको गुनासो परेको थियो । त्यो मध्ये करीब करीब ३० प्रतिशतको समाधान भएको होला । अरुको यथावत नै हुने देखिएको छ,’ ती अधिकारीले भने ।

पहुँचवालाले सुविधा पाए ?
‘बुढानिलकण्ड नगरपालिकामा १८ वटा अनमीको दरबन्दी हो, त्यो भरिईसकेको छ तर सामान्यले एक जना एकल महिला हो बुढानिलकण्ठमा पदस्थापन गरिदिनु भनेर पत्र पठाएको छ । यस्तै ललितपुर नगरपालिकामा बैद्य कविराजको पद नै छैन तर सामान्यले विशेष पद सिर्जना गरी फलानालाई ललितपुर नगरपालिकामा पदस्थापन गरिदिनु भनेर पत्र पठाएको छ । सामान्यले यसरी पत्र काटनु भनेको नियम अनुसार होइन पहुँचको आधारमा हो,’ ती अधिकारीले भने ।

स्वास्थ्य संस्थाको नेतृत्व गर्न विवाद
हुन त स्वास्थ्य चौकीको नेतृत्व सीअहेवले गर्ने कि एचएले गर्ने भन्ने विवाद पटक पटक उठिरहेको थियो । समायोजनमा खटिएका स्वास्थ्यका अधिकारीहरुले सो विवाद नउठोस भनेरै जसले जो पदनाममा जे जिम्मेवारी लिएको छ सोही अनुसार गर्ने भन्दै गुनासो माग गरेका थिए । तर पछिल्लो पटक सामान्यले गरेको निर्णयले पदनाम होइन लोकसेवा आयोग र शैक्षिक योग्यताको आधारलाई टेकेर जिम्मेवारी दिने निर्णय गरेको छ । ‘यसले थप विवाद चर्काउन सक्छ,’ स्वास्थ्यका ती अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *