चिकित्सकहरुको ‘जुनियर विङ’ खोल्नै खोजिएको हो भने एनएमएले धेरै कुरामा सुधार गर्नुपर्छ

नेपाल चिकित्सक संघले जुनियर चिकित्सक समिति गठन गर्ने बताएको छ । संघको यो धारणासंगै चिकित्सक बृत्तमा समर्थन र विरोधका आवाजहरु उठन थालेका छन् । यसै विषयमा हामीले डाक्टर सोसाइटी अफ नेपाल  (डीओएसएन)का उपाध्यक्ष डा . मधुसुधन पाण्डेसंग कुराकानी गरेका थियौँ ।

– डा. मधुसुदन पाण्डे

जुनियर चिकित्सकको खास परिभाषा के हो ?
हुनत जुनियर चिकित्सकको व्याख्या अनेक तरिकाले गर्न सकिएला तर हाल अन्तराष्ट्रिय मान्यता अनुसार १० बर्ष यता चिकित्सक बनेकालाई जुनियर चिकित्सक मानिएको छ । वल्र्ड मेडिकल एसोसिएशनले पनि त्यहि व्याख्या गरेको छ ।

चिकित्सक संघका लागि  जुनियर चिकित्सक ‘विङ’ किन चाहियो ?

महत्वपूर्ण प्रश्न गर्नुभयो ।नेपालमा अहिले करीब ७५ प्रतिशत चिकित्सक जमात युवा चिकित्सकको छ भन्दा फरक पर्दैन । आज ग्राजुएट चिकित्सकहरुको उत्पादन बढ्दो छ । तर त्यस अनुसार अवसरहरु बढेको छैन । सरकारी दरबन्दी उही पुरानो हो । निजी संस्था र केही पव्लिक संस्थारु अब्सोर्व हुनुपर्ने बाध्यता छ । त्यहि पनि न्युन तलव सुविधामा । अनि हिजोआज सुन्नु भएकै छ स्वास्थ्यकर्मी अनि अस्पतालहरुप्रतिको बढदो हिंसाले निम्त्याएको सुरक्षा जोखिम यी यस्ता चुनौतीबीच संघर्षरत चिकित्सकहरुका विभिन्न पेशागत र बृत्तिविकासका समस्याहरु पनि रहि आएका छन् । यी यस्ता युवाहरुका जायज मागहरु एनएमएको मुलमुद्धा बन्ने नगरेको निराशाजनक परिस्थिति हामीमाझ प्रष्टै छ ।

तर यति भनिरहँदा हालको कार्य समितिमा युवा चिकित्सकको प्रतिनिधि नै छैन भन्न सकिन्न तर पनि विडम्बना आम युवा चिकित्सकका कठिनार्ईहरु चिर्छु र यी माझ आफ्नै पेशाप्रति बढदै गरेको निराशालाई आशामा परिणत गर्छु भन्ने जस्ता भवना नेत्तृत्वमा कहिलै नआएको महसुस भईरहन्छ ।

युवा चिकित्सकहरु प्रति गैरजिम्मेवार एनएमए र त्यसबाट उब्जिएका एनएमए प्रतिको अविश्वास र नैरश्यताले कतिपय युवा चिकित्सकहरू विभिन्न समूह बनाई आम युवा चिकित्सकका केही चासोहरू सम्वोधन गर्न सकिन्छ कि भनेर संस्थागत रूपमा अगाडि आईरहेकाछन् । र यस्ता सस्थाहरूले चिकित्सकमाझ लोकप्रियता हासिल गरिसकेका पनि छन् । तर, जव मूल मूद्दाका विषयमा आईन्छ एक ईतिहास बोकेको आधिकारिक संस्थाको सहयोग बेगर कुनै पनि संघर्ष सफल हुन कठिन रहेको उनीहरूको अनुभव छ नि। तसर्थ यस्तो परिस्थितिमा एनएमए यूथ वीङ आधिकारिक रूपमा खोल्नु एकदमै राम्रो हो।

यसका उदेश्य के हुनसक्छ ?

अब यसको उदेश्य भन्नु हुन्छ भने मेरो बुझाई बेग्लै छ । एनएमए संग मेरो यहि निर बिमति रहेको छ । किनभने
१. जुनियर चिकित्सकका समस्याको सरोकार राख्ने र समाधान खोज्ने ।
२. जुनियर चिकित्सकका हकाधिकार र अबसरको लागि संघर्ष गर्ने
३. अन्तर्रास्ट्रिय जुनियर चिकित्सक नेटवर्क भित्र नेपाली युवा चिकित्सक पनि सामेल हुने र अन्तर्रास्ट्रिय इभेन्टहरूमा युवा नेपाली चिकित्सकको प्रतिनिधित्व गराउने ।
४.जुनियर चिकित्सक विद्यार्थीबीच अन्तरास्ट्रिय आदानप्रदान कार्यक्रममा सहभागी हुने र त्यहाँको सीप र प्रबिधि सिक्ने बाताबरण दिने

५.राष्ट्रिय चिकित्सा क्षेत्रमा खोज र अनुसन्धानमुलक कार्य र अध्ययनमा जुनियर चिकित्सकहरुलाई उत्प्रेरणा र सहयोग गर्ने
६. देशमा हुने प्राकृतिक प्रकोपका बेला सहयोग चेतनाका र उपचारका लागि जुनियर चिकित्सकहरुलाई खटाउने गर्ने हुनुपर्छ ।

तर, यो जुनियर चिकित्सक समिति गठन गर्दा कतिपय चिकित्सकहरुले त विरोध गरेका छन् ?

बिरोध यसको गठनमा भन्दा पनि गठन प्रक्रिया र अहिले चुनाब नजिक आएकाले बिश्वासको संकटका कारण भएको होला सायद । अन्यथा यसको गठनमा त सबैले स्वागत नै गर्लान । अन्य मुलुक जस्तैकी हाम्रै छिमेकी भारतमा प्रदेशपिच्छे यस्तो संरचना छ । विश्वका थूप्रै मूलुकहरूमा यस्तो प्रकारको जुनियर चिकित्सक नेटवर्क रहेका छन् । जस्तै ब्रिटेन, जापान, दक्षिण अप्रिका, नर्वे ,केन्या, पाकिस्तान, जमैका यस्ता जुनियर चिकित्सकको समिति छ ।

हो, विङ्ग खोल्नु राम्रो भए पनि खोल्ने प्रक्रिया पारदर्शी ,प्रजातान्त्रिक र यसको उदेश्य पवित्र हुनु आवश्यक रहन्छ नै । फेरी कुरा स्वतन्त्रता र अधिकारको पनि आउँछ । यस्तो वीङ पूर्ण अधिकार सम्पन्न र स्वतन्त्र रहनु पहिलो सर्त हुनु आवश्यक छ । प्रशासनिक वा आर्थिक रुपमै स्वतन्त्र हुन पर्छ । कसैको स्वार्थ पूर्तिको लागि यो त्यो संस्था प्रयोग नहोस् र कसैको गुलामी हुन नपरोस् भन्नको लागि पनि यो सर्त हुनैपर्छ ।

यसलाई सर्त मात्रै नभई साध्य नै बनाउनु पर्छ साच्चिकै युवा चिकित्सकहरूको हित चाहने हो भने। सधै टिका लाएर वीङको कार्यकारी समिति बनाउनु प्रजातान्त्रिक हुँदैन् । सर्वस्वीकार्य पनि हुँदैन । अन्तरिम कार्यसमित वाहेक, वीङको नेतृत्व चयन चुनावबाटै हुनु पर्दछ र यस सम्वन्धि विधान संसोधन गरि स्पस्ट प्रावधान राख्नु उपयुक्त हुन्छ । अन्तरिम कार्यसमिति बनाउँदा सम्पूर्ण शाखाबाट प्रतिनिधित्व साथै विभिन्न संघ सस्ठाबाट युवा चिकित्सकका लागि निरन्तर लागिरहेका सक्रिय युवाहरूलाई पनि बेवास्ता गरिनु हुँदैन ।

उनीहरूका अनूभव र कठिनाईबाट व्यवहारिक र बस्तुपरक राय सल्लाह साथै समस्याहरुको पहिचान र समाधानको दिशा र गति छिटै प्राप्त गर्न सकिन्छ। यो कूरा समयमा बुझेमा एनएमए एकढिक्का बन्ने बातावरण स्वतः विकास हुन्छ। फेरी ११ साल दोहराउने किसिमको वीङको स्थापना गर्ने जमर्को गरिएको हो भने यो व्यर्थ प्रयास मात्र हुनेछ । आम चिकित्सक जमातले खोजेको फल प्राप्तगर्न सकिने छैन् ।

अनि तपाईँहरुको संस्थाको यसप्रति विरोध कि समर्थन ?

विरोध त नभनी हालौँ तर पूर्ण समर्थन पनि भएको अवस्था होइन । जुनियर संगठन गठन गर्ने कुरामा पूर्ण समर्थन छ । सायद व्यक्तिगत रुपमा भन्दा म त अति उत्साहित नै छु । तर गठन गर्न लागिएको समिति वा विङ्ग हामीले कल्पना गरेको जस्तो हो त भन्ने प्रश्न आउँछ ।

हालको एनएमए विधान अन्तर्गत निर्माण हुने जुनियर चिकित्सक समिति आम चिकित्सकले कल्पना गरे जस्तो बन्नै सक्दैन चाहेर पनि । फेरी हाल एनएमले वीङको निमार्ण गर्ने भनी आएको सूचनामा कस्तो वीङको परिकल्पना गरिएको हो पूर्ण स्पष्टता छैन । स्वतन्त्र र अधिकार सम्पन्न वीङ खोलिने अभिप्राय देखिदैनन् जुन दुर्भाग्यपूर्ण छ । सुचनामा भनिए जसै महासचिवको संयोजनमा वीङ रहनु फेरी पनि पुरानै ढर्रा भन्छु म ।

यसले नयाँ बन्ने समिति स्वतन्त्र वा स्वायत्त रहन सक्दैन । यदी युवा चिकित्सक साथीहरूलाई देखाउनको लागि वा प्रयोगका निम्ति मात्र राखेर आफ्नो निर्णयमा यसम्यान बनाएर सही ठोकाउने किसिमको यूथ वीङ को परिकल्पना गरिएको हो भने यसको कुनै औचित्य हुँदैन ।

एनएमए हुँदाहुँदै यति धेरै पेशागत चिकित्सकीय संस्थाहरु किन चाहिएको होला नेपालमा ?

यहाँ सरकारी अनि गैरसरकारी चिकित्सक संघ ,अर्को डिओएसन, वाईडीए, मधेसी चिकित्सक संघ आदि पेशागत संगठन भन्नुस ,यो किन चाहियो भन्दा पनि यी कसरी र कस्तो पृष्ठभुमिबाट जन्मिए यो कुरा बुझ्नु मुख्य कुरा हो । यी जन्मिनु र यति चिकित्सकबीच बिभाजन हुनु पनि एनएमए नै मुख्य दोषी हो । किनकी एनएमए पुरानै ढर्राबाट चल्न खोज्ने ,उही बिधान उहि संरचना ,हेर्नुस त आज दूनियासंगै नेपाली चिकित्सक समाज पनि बदलिएको छ । परिस्थितिहरू फेरिएको फेरियै छ । संख्या नै २५००० माथि चिकित्सक छन् । अनि हिजोको जस्तो चिकित्सकहरुलाई सहज परिस्तिथि छैन । अवसर पनि हिजोको जस्तो छैन । आज हिजोको तुलनामा संघर्ष अनि प्रतिस्पर्धा बढ्दो छ ।

युवा चिकित्सकका आफ्नै पेशागत समस्या छन् । सरकारी चिकित्सकका आफ्नै समस्य्या छन् । अनि गैरसरकारी निजी प्राक्टिस गर्ने का छुट्टै अनि आवासीय र विदेश पढ्न जाने चिकित्सकका आफनै समस्या छन् । तसर्थ एनएमएको जिम्मेवारी पनि बढेको छ । तर बिडम्बना यो कुरा नबुझेर हो या नचाहेर पुरानै संरचनामा एनएमए जुध्दै छ । फेरी यहाँ फुल टाइमर पनि त पदाधिकारी हुँदैनन् ,मूस्किल छ।

त्यसैले बिधान संसोधन गरेर एनएमए भित्रै यी सरकारी, प्राइवेट प्राक्टिस ,युवा चिकित्सक, आवासीय र स्वदेश र विदेश अध्यनरत विद्यार्थीका सबैका भिन्न भिन्न सरोकार राख्न नेपाल चिकित्सक संघ भित्रै सम्बन्धित अधिकार सम्पन्न समितिहरुको निर्माण अपरिहार्य छ आजको दिनमा।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *