भरतपुर अस्पतालको जग्गा : दुई तिहाई बढी अरुलाई दिएपछि आफैलाई अभाव

  • नारायण अधिकारी

चितवन, २२ जेठ । भरतपुर अस्पतालको नाममा रहेको जग्गा बाँड्दै गएपछि अहिले गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई नै जग्गाको अभाव देखिएको छ ।

अस्पतालको नाममा रहेको ३० बिगाहा ११ कट्ठा ६ धुर जग्गा बाँड्दा बाँड्दै अस्पतालसँग अहिले १० बिगाहा जग्गा मात्र बाँकी रहेको छ ।

गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई कम्तीमा १५ बिगाहा जमीन आवश्यक पर्छ । अस्पतालले २० बिगाहाभन्दा बढी जमीन निजी, गैरसरकारी र सरकारी संस्थालाई भोगचलन गर्न दिइएको छ । कतिपयले अस्पताललाई न्यून भाडा तिर्दै आएका छन् भने कतिले उपभोग मात्र गरेका छन् ।

अस्पतालका अनुसार यहाँको सबैभन्दा बढी नौ बिगाहा कलेज अफ मेडिकल साइन्सेजले न्यूनतम भाडामा प्रयोग गर्दै आएको छ । कलेजले वार्षिक रुपमा प्रतिबिगाहा रु एक लाख तिर्ने भए पनि लामो समयदेखि बक्यौता रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी स्कूल अफ हेल्थ साइन्सले ६ बिगाहा १९ कट्ठा १० धुर, भरतपुर आँखा अस्पतालले तीन बिगाहा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर जग्गा उपभोग गर्दै आएका छन् । मेडिकल कलेजसँगै साझाले न्यूनतम भाडा तिरेको छ भने अन्यले उपभोग मात्रै गर्दै आएका छन् ।

भरतपुर अस्पताललाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न निर्माण गर्नुपर्ने पूर्वाधारका लागि जग्गाको अभाव हुने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगालेले बताउनुभयो । मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ्ग सेवा र शैक्षिक कार्यक्रम सञ्चालनका लागि र प्रशासनीक भवन निर्माणका लागि अस्पतालसँग जमीन पर्याप्त छैन ।

भरतपुर अस्पतालको नाममा रहेको जग्गा निःशुल्क वा सशुल्क रुपमा प्रयोग गरिरहेका सङ्घसंस्थाहरुसँग बाँकी बचेको जमीन अस्पतालले उपयोग गर्ने गरी अस्पतालले गुरुयोजना निर्माण गरेको हो ।

अस्पतालमा स्वाथ्य सेवा प्रवाह गर्ने क्षेत्र, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने क्षेत्र र आवास क्षेत्र गरी तीन भागमा बाँडेर गुरुयोजना तयार गरिएको अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताए । भरतपुर अस्पताललाई एक हजार श्ययाको अस्पताल बनाउने लक्ष्य छ । जसका लागि १५ बिगाहा जमीन चाहिने उनको भनाइ छ ।

अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य विजय सुवेदीले अन्य सङ्घसंस्थालाई दिइएको जग्गा आवश्यकता र उपयोगिताका आधारमा पुनः व्यवस्थापन गर्नुपर्ने सुझाउ दिए । उनले अस्पतालले जग्गा पाउँदा सेवाका लागि पाएको भन्दै व्यवसायका लागि प्रयोग हुन नहुने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बगालेले केन्द्रीय अस्पताल भइसकेपछि यसले दिने सेवासुविधा बढ्ने भएकाले सर्वदलीय सहमतिका आधारमा अस्पतालको गुरुयोजनाअनुसार काम गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्नुपर्छ भने । भर्खर मात्र अस्पतालको नेतृत्वको जिम्मेवारी पाउनुभएका बगालेले जग्गाको समग्र अवस्थाका बारेमा आफूले बुझेर सुझावसल्लाहअनुसार अघि बढ्ने जानकारी दिए।

अस्पतालमा बिरामीको बढ्दो चाप रहेकाले यसलाई व्यवस्थित गर्नका लागि गुरुयोजनाअनुसारका कामलाई तीव्रता दिनुपर्ने उनको जोड छ ।

विसं २०१३ मा एउटा छाप्रोमा १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ ।

हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिइँदै आएको छ । दैनिक एक हजार ५०० सम्म बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् ।

चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । यो अस्पतालबाट वार्षिक रुपमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *