यसरी पाएको थियो नेपालले १ लाख डलरको ब्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड (भिडियो सहित)
काठमाडौँ, १७ जेठ । विश्व धूमपान रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटक सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धि अभियानमा क्रियाशिल व्यक्ति तथा संस्था गरी विभिन्न ६ विधामा अवार्ड वितरण गरयो । स्वास्थ्यमन्त्री ब्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार नाम दिइएको उक्त अवार्डको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।
मन्त्रालयले छ विधामा एकाएक यति ठूलो राशीको पुरस्कार वितरण गर्दा स्वास्थ्य क्षेत्रकै व्यक्तिहरु समेत छक्क परिरहेका थिए । कतिपयले त यसको आर्थिक स्रोतको बारेमा समेत चासो राखेका थिए ।
तर धेरैलाई थाह नहुन सक्छ । यो पुरस्कारको स्रोत ब्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड हो । स्वास्थ्य मन्त्रालयले सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्न बनाएको कानुनमा सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्नुपर्ने व्यवस्था गरेपछि सन् २०१५ मा नेपालले ब्लुम्बर्ग फिलान्थेपिक अवार्ड प्राप्त गरेको थियो ।
एक लाख डलर ( एक करोड रुपैयाँ भन्दा बढी ) को सो पुरस्कार तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले त्यसबेला सयुक्त अरव इमिरेटसको दुवई भएको विशेष कार्यक्रममा पुगेर ग्रहण गरेका थिए ।
अवार्ड दिने बेलामा ब्लुम्बर्गले नेपालले कसरी उत्कृष्ठ बनाउन सफल भयो भन्ने बारेमा छोटो भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरेको थियो । २ मिनेट १७ सेकेण्डको भिडियोमा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, तत्कालिन सांसदहरु गगन थापा, महेश बस्नेत, बरिष्ठ पत्रकार कृष्णज्वाला देवकोटा, टिका कंडेल, द यूनियनका डा तारासिंह बमले नेपालले बनाएको सूर्ति नियन्त्रण सम्वन्धी कानूनको महत्वको बारेमा धारणा राखेका छन् ।
हुन पनि नेपाल त्यसबेला सूर्तिजन्य पदार्थको प्याकेटको सबैभन्दा बढी भागमा चेतावनीमुलक चित्र छाप्नुपर्ने व्यवस्था गर्ने संसारकै पहिलो देश थियो ।
ब्लुम्बर्ग अवार्ड आइसकेपछि सो अवार्डको राशीको अक्षयकोष बनाई व्याजबाट आउने रकमले नेपालमा सूर्ति नियन्त्रण गर्ने अभियानमा क्रियाशिल व्यक्ति तथा संस्था गरी बार्षिक रुपमा ६ जनालाई अवार्ड गर्ने बताइएको थियो । तर त्यसको कार्यविधि बनेर पास हुन झण्डै २ बर्ष लाग्यो । विसं २०७३ मा तत्कालिन स्वास्थ्य मन्त्री रामजनम चौधरीले स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार अक्षय कोष (सञ्चालन) कार्यविधि २०७३ स्वीकृत गरेपछि पुरस्कार दिने बाटो खुलेको थियो ।
तर, त्यसपछिका दुई पनि यत्तिकै गयो । यसपटक भने मन्त्रालयका सो कार्यविधि कार्यान्वयनमा आएको छ । अर्थात व्यक्ति तथा संस्था गरी छ जनाले पुरस्कार पाएका छन् ।
सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धि कानूनको निरन्तर खबरदारी र यसको कार्यान्वनयमा पैरबी गर्दै आएको स्वास्थ्य पत्रकार मञ्च नेपालले संस्थागत तर्फको स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार प्राप्त गरेको छ । यस्तै नयाँ पत्रिका दैनिक र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पनि संस्थागत विधाबाट पुरस्कृत भएका छन् ।
व्यक्तिगत रुपमा पुरस्कृत हुनेहरुमा भने कानून बनाउने र कार्यान्वयनमा उत्कृष्ठ ढंगले खटिएवापत तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारी, पत्रकारिताको माध्यमबाट निरन्तर खबरदारी गर्दै आएका गोरखापत्र दैनिकका सरोज ढुंगेल र सूर्ति उद्योगीको गोदाममा छापा हान्न हिड्ने काठमाडौँका तत्कालिन सीडीओ रामकृष्ण सुवेदी रहेका छन् ।
शुक्रबार स्वास्थ्य सेवा विभागमा भएको विशेष समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पाँच जना व्यक्तिलाई पुरस्कार प्रदान गरेका थिए । हाल गृह मन्त्रालयमा कार्यरत सुवेदी भने विदेश भएका कारण पुरस्कार लिन आउन सकेनन् ।
हेर्नुहोस भिडियो डकुमेन्ट्री
सम्पर्क इमेल : nepalihealthnews@gmail.com