लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल

काठमाडौँ, २८ चैत । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् ।

काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल भएका छन् । परीक्षामा सहभागी ४ सय ६ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन् ।

एमबीबीएसतर्फ लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका ७ सय २ जना र नेपालमा पढेका ४ सय २१ जना डाक्टर सहभागी थिए । बीडीएसमा विदेशबाट पढेका ५७ जना र नेपालमा पढेका ३ सय ४८ जना दन्त चिकित्सकले परीक्षा दिएका थिए ।

परीक्षामा सहभागी ८ सय ३० जना (एमबीबीएस र बीडीएसमा) पहिलेको लाइसेन्स परीक्षामा फेल भएकाहरू थिए । लाइसेन्स परीक्षामा सहभागी ६ सय ५८ जना नयाँ उम्मेदवारमध्ये अधिकांश विदेशमा अध्ययन गरेका हुन् । त्यसमा चीन र बंगलादेशमा पढेका बढी छन् ।

काउन्सिलले लाइसेन्सका लागि सञ्चालन गर्ने परीक्षामा अनुत्तीर्ण दर केही वर्षयता उच्च छ । ‘प्रवेश परीक्षाबिना विदेश पढ्न गएर सर्टिफिकेट ल्याएकाहरूलगायतका कारण सन् २०२२ सम्म यस्तो स्थिति रहिरहन्छ,’ काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाले भने । पछिल्लो समय विदेश पढ्न स्वदेशको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । प्राडा बाँस्कोटा स्वास्थ्य क्षेत्रको दुर्दशाले अयोग्य डाक्टर उत्पादन भइरहेको बताउँछन् ।

सर्वोच्च अदालतले २०५८ फागुुन २५ गतेपछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य हुने आदेश गरेको थियो । त्यसयता यो परीक्षा पास नगरी चिकित्सा पेसा पाइँदैन ।

काउन्सिलमा दर्ता चिकित्सक संख्या करिब २३ हजार छ । तीमध्ये कति जना मुलुकभित्र, कति विदेशमा छन्, कतिले अभ्यास गर्दैनन्, कति जनाको मृत्यु भइसकेको छ भन्नेबारे यकिन तथ्यांक छैन । हाल मुलुकमा करिब १५ हजार डाक्टरमात्र कार्यरत रहेको नेपाल चिकित्सक संघले जनाउँदै आएको छ ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “लाइसेन्स परीक्षामा ७५ प्रतिशत डाक्टर फेल

  1. doctor fail haina patrakar mahodaya…bidhyarthi fail bhannu hos…fail bhayepachi kasari doctor bhaincha?exam dine bela samma ta medical student ho…licence pass bhayepachi balla doctor hune ho…common sense use garum na…patrakaar bhayera alik sambedanshil huna siknu hoos…aam janata ma galat prachar huncha…doctor nai fail bhayechan bhanera sochhan…medical field is a sensitive part…so before publishing a news detailed study is required…grow up dude..

Leave a Reply

Your email address will not be published. Required fields are marked *