अध्ययन् भन्छ, ‘धेरै सन्तान जन्माउने आमाबाबुलाई मुटुरोगको खतरा बढी’

वासिङ्टन, १४ चैत । पाँच वा सो भन्दा बढी सन्तान जन्माउने अविभावकलाई एक वा दुई सन्तान जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।

“यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् ।

उनीहरुका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको सङ्ख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ ।

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्वन्धी रोग भएको पाइएको जानकारी दिइन ।

तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्रा यस्तो समस्याहरू देखिएको उनले बताइन ।

त्यसैगरी अध्ययनले बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मात्र मुटुसम्वन्धी समस्याहरु हुने देखाएको छ ।  अध्ययनमा झण्डै २५ हजार जना समेटिएका थिए । उनीहरु ५० बर्ष र त्यो भन्दा धेरै उमेरका थिए ।

अध्ययनमा सहभागी भएकामध्ये झण्डै एक चौथाई व्यक्तिहरू दुई बर्षदेखि मुटुसम्वन्धी रोग रहेको बताएका चिकित्सकहरूले जनाएका थिए ।

“अध्ययनले महिला पुरुष दुवैलाई जति धेरै बच्चा भयो त्यति धेरै मुटु रोगको समस्या हुने गरेको देखाएको छ,” अध्ययनकर्ता हिप्पले भनिन् ।

यो अध्ययन “जर्नल अफ एजिङ एण्ड हेल्थ”मा प्रकाशित भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *