भारतले अस्पताललाई दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै

काठमाडौँ, २२ फागुन । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सीको एक्सरे पनि बिग्रिएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाइन्छ ।

सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ ।

भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदानमा दिएको हो । तर, सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यवस्थापन भएको छैन । मेसिन ०७२ मै आएको हो, अहिलेसम्म जडान हुन सकेको छैन । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाउने गरिएको छ ।

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचन भन्छन्–इमर्जेन्सी एक्सरे ६ महिनादेखि बन्द छ
ट्रमा सेन्टरको इमर्जेन्सीमा दैनिक ७० देखि ८० बिरामी आउँछन्, तर सिटी स्क्यान मेसिन बिग्रिएको छ । अप्रेसन गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि बिग्रिएको छ । त्यस्तै, इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ ।

भारत सरकारले दिएको उपकरण भएकाले नेपालका प्राविधिकले मर्मत गर्न मानेका छैनन् । यो अवस्थामा ट्रमा सेन्टरले चाहेजस्तो सेवा दिन सकेको छैन । मुटुको उपचार गर्न ल्याइएको क्याथ ल्याब मेसिन कोठाको अभावमा जडान गर्न नसकिएकाले थन्किएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुयाल भन्छन्–सीमित व्यक्तिको स्वार्थले महँगा उपकरण थन्किए
आधारभूत स्वास्थ्य सेवा दिन चाहिने औजार–उपकरणलाई महत्व दिनुपर्छ । किनिएका उपकरण थन्किएको गुनासो मन्त्रालयमा पनि आउने गरेको छ ।

दक्ष कर्मचारी व्यवस्थापनका विषयमा अध्ययन अनुसन्धान नगरी खरिद गरिएका कारण धेरै समस्या आएको छ । पेट स्क्यान, सिटी स्क्यान, एक्सरे, डायलाइसिस उपकरण अस्पतालहरूमा पठाउँदा सञ्चालन गर्ने व्यक्ति नभएको हुन सक्छ । यस विषयमा गम्भीर हुनुपर्ने वेला आएको छ ।

करोडौँको उपकरण त्यसै थन्किएको छ । सीमित व्यक्तिहरूको स्वार्थका कारणले अस्पतालहरूले उपकरण खरिद गरेका छन् । तर, त्यसबाट जनताले सेवा पाउन सकेका छैनन् । उपकरण किन्नैपर्ने, तर सेवा चलोस्–नचलोस् भन्ने जमात पनि छ ।

मेडिकल कलेज, नर्सिङ होमहरू पर्याप्त सञ्चालनमा छन् । सेवामुखीभन्दा पैसामुखी स्वास्थ्यकर्मीले सरकारी अस्पतालका उपकरण सञ्चालनमा ल्याउँदैनन् ।

उनीहरू सरकारीभन्दा निजी अस्पतालमा बिरामी आएको हेर्न चाहन्छन् । तर, आधारभूत स्वास्थ्य सेवामा चाहिने उपकरणहरू भएकाले मन्त्रालयले अब यसलाई व्यवस्थित गर्ने भएको छ ।

  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेको समाचार ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *