विश्वभर आत्महत्याको दर घट्यो


पेरिस, २४ माघ । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ ।

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ ।

बीएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । सन् १९९० को तुलनामा यो ६ दशमलब ७ प्रतिशतको वृद्धि हो ।

तर, विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्याको आकारका दृष्टिबाट आत्महत्याको दरमा प्रति एक लाख मृत्यु १६.६ प्रतिशतबाट घटेर ११.२ प्रतिशत भएको छ । जनसख्या वृद्धि र मृत्युको अनुपातको तथ्याँक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी भएको छ ।

“आत्महत्याबाट हुने मृत्युलाई रोक्न सकिन्छ र यो अध्ययनले आत्महत्या रोकथामका लागि भइरहेका प्रयत्नलाई अझ व्यापक बनाउन सुझाव दिएको छ,” क्यानाडेली जनस्वास्थ्य निकायकी अनुसन्धान वैज्ञानिक हिथर ओर्पानाले बताइन् ।

हेल्थ एन्ड मेट्रिक्स इभालुएसन इन्स्टिच्यूटले हरेक वर्ष मृत्युको कारण, स्थान, उमेर तथा लिङ्गको समग्र अध्ययन गरी ग्लोबल बर्डेन अफ डिजिज अर्थात् मृत्युको कारणहरुको विश्लेषण गर्दछ ।

आत्महत्याका कारण हुने मृत्युका घटनामा समग्रमा कमी आएको देखिए पनि केही मुलुकमा आत्महत्याबाट धेरैले ज्यान गुमाउने गरेको पाइएको अध्ययनले देखाएको छ ।

साथै, महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । “पुरुषको मृत्युदर नै बढी देखिएको छ तर उमेर, र कतिपय सन्दर्भमा देश अनुसार यसमा विभिन्नता पाइन्छ,” ओर्पानाले बताइन् ।

विश्वभर, आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५.६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ ।

डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ ।

चीनमा सन् १९९० यता आत्महत्याका कारण हुने मृत्यु दरमा करिब ६४.१ प्रतिशतले घटेको छ । तर जिम्बाबेमा आत्महत्याका घटना झण्डै दोब्बरले वृद्धि भएको छ ।   रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *