पछिल्लो चार महिनामा नेपालमा भित्रियो १० अर्बको औषधि

काठमाडौँ, २ पुस । नेपालले पछिल्लो चार महिनाको अवधिमा ५० देशबाट १० अर्ब रुपैयाँबराबरको औषधि आयात गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० अर्ब २८ करोड रुपैयाँबराबरको औषधिजन्य वस्तु आयात गरिएकोे भन्सार विभागले जनाएको छ । आव २०७४/७५ मा मात्रै २७ अर्ब २७ करोड ७९ लाख रुपैयाँबराबरको औषधि आयात भएको छ ।

चालू आवमा सबैभन्दा धेरै भारतबाट ७ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबराबरको औषधि आयात भएको छ । यसैगरी, बेल्जियमबाट ७४ करोड ६९ लाख, स्विट्जरल्यान्डबाट ७२ करोड ६ लाख, चीनबाट १५ करोड १३ लाख, नेदरल्यान्डबाट ११ करोड ६२ लाख रुपैयाँबराबरको औषधि आयात गरिएको छ ।

यस्तै, यस आर्थिक वर्षमै जर्मनीबाट ११ करोड १ लाख, बंगलादेशबाट १० करोड ५७ लाख, अमेरिकाबाट ८ करोड ३९ लाख, इटलीबाट ५ करोड ६५ लाख रुपैयाँको औषधि आयात भएको भन्सार विभागका तथ्यांक अधिकृत रामप्रसाद वाग्लेले बताए ।

यस आर्थिक वर्षमा सबैभन्दा कम कोलम्बियाबाट १ हजार रुपैयाँको औषधि आयात भएको छ । यस्तै, गत आर्थिक वर्षको पहिलो चौमासिकमा ४८ देशमार्फत ७ अर्ब ९० करोड रुपैयाँबराबरको औषधिजन्य पदार्थ आयात गरिएको थियो ।

गतवर्ष साउनदेखि कात्तिकसम्म भारतबाट ६ अर्ब ४८ करोड १५ लाख, स्विट्जरल्यान्डबाट ६८ करोड २५ लाख, बेल्जियमबाट १७ करोड ४५ लाख, बंगलादेशबाट ८ करोड ७९ लाख, चीनबाट ५ करोड ३५ लाख रुपैयाँबराबरको औषधि आयात भएको थियो ।

यस्तै, फ्रान्सबाट ५ करोड ३५ लाख, जर्मनीबाट ४ करोड ९५ लाख, नेदरल्यान्डबाट ४ करोड ७४ लाख रुपैयाँबराबरको औषधि आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागका तथ्यांक अधिकृत वाग्लेले भने, ‘औषधि भन्सार बिन्दुसम्म आइपुग्छन् । त्यसपछि मात्रै औषधि भित्रिने हो । सबै प्रकृतिका औषधिको भन्सार शुल्कसमेत तोकिएको छ ।’

सबैभन्दा धेरै औषधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज, मेची र नेपालगन्ज भन्सार नाकाबाट भित्रिने गरेका छन् । नेपालमा धेरै मात्रामा एन्टिबाइटिक, भ्याक्सिन, डायग्नोस्टिक किट्स, पेनक्लिर, इन्सुलिन र आयुर्वेदिक औषधि आयात हुँदै आएको छ ।

  • आजको राजधानी दैनिकमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *