‘म माथि यसरी भयो आक्रमण’

डा. अमित पण्डित

म श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कन्चनपुरमा कार्यरत छु । कार्यलय समय बाहिर विहान बेलुका नजिकैको थलकेदार क्लिनिकमा पनि विरामी हेर्ने गर्छु । यो घटना शुक्रबार विहान साढे ७ बजे तिरको हो ।

थलकेदार क्लिनिकमा म संग सल्लाह लिन भन्दै एक जना महिला चन्दा थापा आउनु भयो । उहाँले खासमा जाँच गराउन भन्नु भएको थिएन । डाक्टरसंग सल्लाह लिन भन्दै आउनु भएको थियो । म भित्र ओपिडीमा थिएँ । सिस्टरले जानकारी गराएपछि उहाँलाई भित्र पठाउन भनेँ ।

उहाँ ६ बर्षको छोरा लिएर आउनु भएको रहेछ । सिस्टरसंग राखेर कुरा गरेर । डर लाग्ने टाउको दुख्ने, चिन्ता बढी हुने भएकोले म बाहिरबाट औषधि खाएको छु तर मलाई अति अफ्टेरो महसुस भइरहेको छ । सन्चो छैन भन्नु भयो ।

मैले उहाँलाई ठिक छ औषधि निरन्तर गर्नुहोस् थप परीक्षणका लागि तपाईँ सेती अञ्चल अस्पताल धनगडी जानुहोस । त्यहाँ गएर बरु इएनटीका डाक्टर श्रीपाइलीलाई देखाउनुहोस् भने । तत्कालका लागि भनेर मैले केही औषधि लेखिदिए । त्यसपछि उहाँ निस्कनु भयो ।

बाहिर गएपछि उहाँ झनै आत्तिएको महसुस गर्नु भएछ । त्यसपछि फार्मेसीमा गएर निवोलाइजर दिन लगाएँ । त्यसपछि म ओपिडीमा आएँ । पछि सिस्टर आउनु भयो र भन्नुभयो दिदी एकदम आत्तिनु भएको छ काँपी राख्नु भएको छ । 

तत्काल आफन्तलाई बोलाउन लगाँए । क्लिनिकको एक जना भाईलाई उहाँको आफन्तलाई लिन पठाइयो । उनले घरमा गएर सासु आमालाई लिएर आए ।

त्यसबीचमा हामीले उहाँलाई बेडमा राखेर प्रेसर हेरेउ १५०/ १०० थियो । स्याचुरेसन पनि ९८ /९९ सम्म देखियो । नाडी पनि बढी राख्ने र काँपी राख्ने । मैले एउटा एमलोड खुवाएँ । मिर्गिजस्तो लक्षण देखा परयो । त्यसपछि एउटा इन्जेक्सन पनि दिन लगाएँ । त्यसपछि पनि नियन्त्रणमा आएन ।

त्यसपछि हामीले सिस्टर अरु क्लिनिकका स्टाफको सहायतमा पीएचसी लग्यौँ र अक्सिजन दियौँ । सवा आठ बजे देखि स्वास्थ्य केन्द्रमा उहाँलाई अक्सिजन दिइयो ।

म करीब एक घण्टा त्यहाँ बसे । उहाँको आफन्त पनि आउनुभयो । स्वास्थ्य केन्द्रमा भिडभाड थियो । अरु धेरैमान्छेहरु आएका थिए । मैले उहाँको सासु आमालाई भने, हामीले सक्ने र साधनस्रोतले भ्याएको सम्म गरिसक्यौँ । मैले धनगडीको लागि रिफर गरेको छु । त्यहाँ लैजानुस भने । उहाँहरुले हुन्छ भन्नुभयो ।

हाम्रो एम्बुलेन्स विग्रिएको रहेछ । मैले नै अर्को एम्बुलेन्स खोजिदिएँ र धनगडी पठाउँदै थियौँ ।

त्यसपछि म एक जना साथि भेटनुपर्ने थियो र बसपार्क तिर लाग्दै थिएँ । उताबाट पूर्व सभासद एवं नेपाली कांग्रेसका नेता दिवानसिंह बिष्ट सहितको टोली आएको रहेछ । म हतारमा थिए । उहाँलाई देखिन । उहाँले चिच्चाएर बोलाउँनु भयो । म उहाँसंग पुगेको मात्रै के थिए ।

एक्कासि घिनलाग्दो शब्द सहित गालि बर्साउन थाल्नु भयो । धम्कीका शव्द प्रयोग गर्नुभयो । मैले आफ्ना कुरा राख्न खोजेँ तर उहाँ सुन्ने मुडमै हुनुहुन्थेन । एक्कासी हातै हाल्न थाल्नुभयो । एक्कासी यो के भईरहेको छ । किन म माथि यस्तो गरिदैछ । सोच्न पनि सकिन । उहाँसहित संगै आएका अरु पनि म माथि जाही लागे । म ज्यान जोगाउन दौडेर पीएचसीमा पसेँ । उहाँहरुले पीएचसी सम्म नै लखेटदै आउनुभयो । त्यसपछि त्यही रहेका मेरा सहकर्मीले उहाँहरुलाई छेक्नुभयो ।

उहाँ एक्कासी आक्रोशित हुँदा खेरी नै मैले गडबढ हुन्छ कि जस्तो ठानेको थिएँ । उहाँले के कुरामा चित्त नबुझेको हो भन्नुस । कुरा क्लियर गरौँ भनेको थिएँ । तर मेरो कुरा सुन्नु नै भएन । मधेसको मान्छे भन्दै दुव्र्यवहारपूर्ण शव्दको बर्षा गर्दै म माथि आक्रमणमा उत्रिनुभयो ।

यसले मलाई निकै चित्त पनि दुखेको छ । उहाँको भनाई अनुसार आएका विरामीलाई यही सन्चो नबनाई किन धनगडी पठाउँछस् भन्ने थियो । तर साधन स्रोतको अभावमा रहेको पीएचसीमा सबै विरामी सन्चो गराउन सकिदैन भन्ने कुरा उहाँ जस्तो पूर्व सभासदले किन नबुझेको होला । रिफर गर्नु गलत हो भन्नु भयो । त्यहाँ नहुने केशलाई समयमै रिफर गर्दा पनि ज्यान बच्दछ भन्ने उहाँले सोच्नु नै भएन ।

घटनापछि मैले प्रहरीमा खबर गरेँ । तर प्रहरी ढिला आइपुग्यो । त्यसपछि हामी चौकीमा पुगेर जाहेरी दियौँ । तर पछि फेरी त्यहि समूह हामीलाई खोज्दै पीएचसी आइपुगेको रहेछ । उनीहरुले मलाई उपचार गर्न नदिन भन्दै पीएचसीको ओपिडी कोठामा समेत ताला लगाइदिएका रहेछन् ।

त्यहाँ अत्यन्त असुरक्षित महसुस गरेपछि हतार हतार क्वाटरमा झोला प्याक गरेर हिडेँ । त्यसदिन धनगडी आएर बसेँ । हिजो नेपालगञ्ज आई फ्लाइटबाट काठमाडौँ आएको छु ।

मैले कुटाई खाने गरी रिफर गरेको केश धनगडीबाट पनि तत्काल रिफर गरियो भन्ने सुनेको छु । अहिले उहाँको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको छ ।

मैले नबुझेको कुरा । पीएचसीमा आएको विरामी रिफर गरयो भनेर कुटने, ओपीडीमा डाक्टर बस्नै दिन्न भनेर ताला लगाउने कार्यले घाटा कसलाई हुन्छ ? उपचारबाट बन्चित को हुन्छ ? पछिल्लो समय त्यस क्षेत्रमा डाक्टरको रुपमा म एक्लै काम गरिहेको थिएँ ।

म पूर्व सिराहाको मान्छे एक बर्ष देखि घर नगई त्यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहेको थिएँ । अरुले नबुझेपनि यसको मूल्यांकन राजनीतिक दलका नेताहरु पूर्व माननीयहरुले बुझ्नु हुन्छ भन्ने लागेको थियो । तर ठ्याक्कै उल्टा भयो ।

उहाँहरुको अभिष्ट डाक्टरहरुलाई तर्साएर धम्काएर आफ्नो नियन्त्रणमा राख्नु थियो होला तर म माथि जुन किसिमको घटना भयो भोलि त्यहाँ जानुपर्दा अर्को डाक्टरले के सोच्छ ? डाक्टर टिक्छ ? अनि डाक्टर नजाँदा घाटा कसलाई ? स्थानीयलाई होइन ?

डा.  पण्डितसंग कुराकानीमा आधारित

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *