‘एकमुष्ट सरुवा’मा विभाग नेतृत्वको त्रुटि भएको छानविन समितिको निस्कर्ष

काठमाडौँ, १९ असोज । स्वास्थ्य सेवा विभागले दुई महिना अघि गरेको एक मुष्ठ सरुवामा त्रुटि भएको स्वास्थ्य मन्त्रालयद्धारा गठित छानविन समितिले निस्कर्ष निकालेको छ । छानविन समिति संयोजक सहसचिव महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिले सरुवामा गम्भिर त्रुटि भएको निस्कर्ष निकालेको हो । समितिले गत बुधबार स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रतिवेदन बुझाएको छ ।

‘संघीयता लागू हुँदै गर्दा स्वास्थ्य सेवा अवरुद्ध नहोस भन्नका लागि यो पटक सरुवाको व्यवस्था गरिएको हो तर यो सरुवा भएपछि धेरै ठाँउमा सेवा अवरुद्ध हुने अवस्था देखियो,’ समितिका एक जना सदस्यले भने ।

उनले सरुवा समायोजन ऐनको दफा ६ भुलिएको , दफा ११ समेत कुल्चिएको बताए । ‘दफा ६ ले जेष्ठताको आधारमा सरुवा गर्नुपर्ने भन्ने स्पष्ट छ । तर यसपटक त्यस्तो भएको पाइएन,’  उनले भने ।

आफूहरुलाई अहिले भएको सरुवामा त्रुटि हो कि होइन ? र भविस्यमा विवाद रहित सरुवा गर्न के कस्ता सुझाव छन् भनेर समिति गठन भएको भन्दै उनले सोही अनुसार प्रतिवेदन बुझाएको बताए ।

४०० सरुवा नियम विपरित
गत १७ साउनमा विभागले गरेको १ हजार ६३० जनाको सरुवामध्ये ४०० बढीको सरुवा नियम विपरित भएको छानवीन समितिका ती सदस्यले बताए । उनले अवधी नपुगेको, दरबन्दी नभएको ठाँउमा सरुवा भएको, विषय नमिलेको लगायतका नीतिगत त्रुटि समेत देखिएको बताए ।

काठमाडौँमा ८४ जना भित्रिए ५ जना बाहिरिए !
छाननिव समितिका सदस्यका अनुसार एक मुष्ठ सरुवामा काठमाडौँमा मात्रै ८४ जना भित्रिएको बताए । तर काठमाडौँबाट बाहिर जानेको सूची ५ जनाको मात्रै रहेको जानकारी दिए । यस्तै अर्को शहरी जिल्ला विराटनगरमा ४१ जना पहाडी जिल्लाबाट भित्रिएका छन् ।तर त्यहाँबाट बाहिर जानेको संख्या ११ मात्रै रहेको उनले बताए ।

शहरी जिल्लामा यसैपनि कर्मचारीको फ्लो बढी भएको र दुर्गम पहाडी जिल्लामा कर्मचारी अभाव भएको भन्दै सरुवा त्यसरुपमा केन्द्रीत हुनुपर्नेमा उल्टा भएको उनले बताए । यसपटकको सरुवामा पहाडी भेगमा कार्यरत तराईमुलका धेरै स्वास्थ्यकर्मीहरु तराई र गृहजिल्लामा सरुवा भएको छानविन समितिले पाएको उनले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सरुवामा केही त्रुटि भएको भन्दै त्यसलाई सच्याउने दिशामा काम अघि बढीसकेको बताएका छन् । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले प्रतिवेदन आफूकहाँ आइसकेको भन्दै अध्ययन्को क्रममा आफू रहेको बताइन ।

सहसचिव श्रेष्ठको संयोजकत्वमा गठित छानविन समितिमा आयुर्वेद विभागका उपसचिव बाबुराम लामिछाने र मन्त्रालयका शाखा अधिकृत रेवतीरमण शर्मा सदस्य रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *