गाभीको सहयोगमा प्राप्त ९ हजार भाईल पोलियो विरुद्धको खोप ‘ड्यामेज’

काठमाडौँ, १५ असोज । स्टोर गरि राखेको पोलियो रोग विरुद्धको नयाँ खोप ‘फ्याक्स्नल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) ९ हजार भाईल ड्यामेज भएको छ । ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को सतप्रतिशत सहयोगमा आएको खोप क्षेत्रीय मेडिकल स्टोर हेटौडामा ड्यामेज भएको हो ।

विभाग तथा विश्वस्वास्थ्य संगठनका प्रतिनिधिहरुले गत भदौमा निरीक्षणको क्रममा खोप ड्यामेज भएको पत्ता लगाएका थिए । खोप ड्यामेज भएपछि विभागले हेटौडाका कोलचेन अधिकृत छविलाल पण्डीत र सारदा न्यौपाने माथि विभागीय कारबाही गर्ने तयारीमा लागेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको बाल स्वाथ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले कोल चेन अधिकृतको असावधानीले ९ हजार भाइल खोप नष्ट भएको बताए । उनले एक भाइल खोपले ५ जनालाई लगाउन सकिने भन्दै ४५ हजार मात्रा खोप नष्ट भएको बताए ।

‘खासमा यो खोप चिसोमा राख्नु हुँदैनथ्यो । त्यहाँका कर्मचारीले चिसो प्रिजमा राखिदिएछन् । त्यसले सबै खोप जम्यो र विग्रियो । यो गम्भीर लापरबाही हो भन्ने निस्कर्षका साथ सम्लग्न कर्मचारीहरुमाथि कारवाहीको प्रक्रिया अघि बढेको छ,’ उनले भने ।

सरकारले करीब तीन बर्ष अघि मात्रै पोलियोविरुद्ध नयाँ भनिएको खोप इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आइपीभी) सुरु गरेको थियो । सो खोप सुरु गरेको एक बर्ष नपुग्दै विश्वव्यापी रुपमा अभाव (ग्लोबल सर्टेज) भएपछि विकल्पको रुपमा नयाँ खोप एफआईपीभी ल्याएको हो ।

डा गौतम भन्छन्, ‘आइपीभी खोप ग्लोबल सर्टेज हुँदै बन्द भएपछि विकल्पको रुपमा एफआईपीभी ल्याइएको हो ।’ उनले एफआईभीको प्रभावकारी दर आइपीभीको भन्दा केही बढी रहेको समेत दावी गरे ।

आइपीभी एक चरणमा दिइने गरेको भएपनि एफआईपीभी खोप भने बालबालिकाहरुलाई दुई चरणमा दिइन्छ ।  यो खोप शिशु जन्मेको ६ हप्तामा पहिलो डोज र १४ हप्तामा दोस्रो डोज दिइन्छ । यस्तै आईपीभी खोप शिशुको मासुमा दिइन्थ्यो भने एफआईपीभी खोप छालामा दिइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *