न्याम्सको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस हुँदै
काठमाडौँ, १ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस हुने भएको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित सर्च कमिटिेले यसअघि ‘सर्ट लिष्ट’मा छानिएका छ मध्येबाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो ।
सिफारिसका लागि छनौट हुनेहरुमा डा डीएन साह, डा ढुण्डीराज पौडेल र डा. अजित रायमाझी छन् ।
मन्त्री यादवको नेतृत्वमा रहेको समितिले हिजो मात्रै सर्ट लिष्टमा परेका छ जनासंग कार्ययोजना सहितको अन्तरबार्ता लिएको थियो । ती मध्ये तीन जनाको नाम सिफारिस भएको हो ।
कार्यप्रस्तुति, अनुभव, योग्यता, ट्याक रेकर्ड आदि सबैको आधारमा निर्णय भएको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेलले भने, एक नम्बरमा डीएन साह, दुई नम्बरमा ढुण्डीराज पौडेल, र तेस्रो नम्बरमा डा अजित रायमाझीको नाम सिफारिस गर्ने निर्णय भएको हो ।
यसअघि समितिले उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये ६ जनालाई प्रारम्भिक रुपमा छनोट गरेको थियो। ६ जनामा अहिले सिफारिस भएका तीन सहित डा विधाननिधी पौडेल, डा विश्वनाथ यादव र डा गेहनाथ बराल थिए।
मन्त्रालयले गत २९ गते उपकुलपतिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो।
यता बीर अस्पतालका चिकित्सकहरुले न्याम्सबाहिरबाट उपकुलपति बन्न आए आफूहरुलाई मान्य नहुने भन्दै चेतावनी दिदै आएका छन् ।