विभागले गरेको सरुवामा सरकार निकट स्वास्थ्यकर्मीकै आपत्ति

काठमाडौ, २३ भदौ ।  चौथो, पाँचौ र छैटौँ तहको सरुवामा ‘गम्भीर लापरवाही’ गरिएको भन्दै सरकार निकट स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवा विभागका महानिर्देशक समक्ष आपत्ति जनाएका छन् ।उनीहरुले सरुवामा भएको त्रुटि तत्काल सच्याउन माग समेत गरेका छन् ।

विभागले १७ भदौको निर्णय भन्दै १९ भदौमा १६२० जनाको सरुवा विवरण प्रकाशित गरेको थियो । सो सरुवा नियमसंगत रुपमा कम र निश्चित व्यक्ति तथा आस्थाका आधारमा बढी गरिएको भन्दै संगठनले आपत्ति जनाएको हो ।

शुक्रबार दिउसो राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बा र राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका अध्यक्ष चित्रजंग शाहीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले विभागका महानिर्देशक डा गुणराज लोहनीलाई भेटेको थियो ।

सो क्रममा टोलीले १७ भदौको सरुवामा कर्मचारीलाई आस्थाका आधारमा पक्षपात गरिएको, आर्थिक चलखेल भएको, कार्यरत कर्मचारी हटाएर गरिने सरुवा कात्तिकमा मात्रै हुनुपर्नेमा भदौमै गरिएको, एउटै दरबन्दीमा ४ देखि ७ जनाको सरुवा भएको, काठमाडौँ उपत्यकाकै एउटा स्वास्थ्यचौकीबाट अर्को स्वास्थ्य चौकीमा सरुवा गरिएको, दुर्गममा बर्षौ देखि कार्यरतहरुलाई अवसर नदिएको लगायतका विषय उठाएका थिए । उनीहरुले यसपटकको विभागको सरुवा भद्रगोल भएको आरोप समेत लगाएका थिए ।

जवाफमा महानिर्देशक डा. लोहनीले सरुवामा केही त्रुटि भएको र त्यसलाई सच्याउने आश्वासन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *