अब चिकित्सकको सिफारिश विना ट्रमाडोल औषधि बिक्री गर्न नपाइने

काठमाडौँ, ७ भदौ । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिशविना बिक्री वितरण गर्न रोक लगाउने भएको छ ।  सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ ।

केही मुलुकमा बिक्रीवितरणमै रोक लगाइएको सो औषधिको नेपालमा समेत दुरुपयोग भएको पाइएपछि विभागले खरीदका लागि चिकित्सकको सिफारिश चाहिने नियम बनाएको हो ।  आगामी १५ भदौ देखि ट्रमाडोल चिकित्सकको सिफारिशविना बिक्रीवितरणमा रोक लगाउन लागेको हो ।

औषधि पसलबाहेक अन्य खुद्रा पसलमा बिक्री वितरण गर्न बाँकी रहेका ती औषधि थोक बिक्रेतालाई फिर्ता गर्न समेत विभागले आग्रह गरेको छ ।

विभागका महानिर्देशक नारायण ढकालले चिकित्सकले सिफारिश गरेका ट्रमाडोलको सङ्ख्या औषधि पसलले भदौ १५ गतेदेखि अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिए । सो औषधि नेपालमा वर्षेनी कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क छैन ।

अब औषधि उत्पादक कम्पनी तथा आयातकर्तालाई पनि के कति मात्रामा सो औषधि उत्पादन एवं आयात गरिएको हो भन्ने यकिन तथ्याङ्क विभागमा बुझाउन समेत भनिएको छ ।

यसैबीच विभागले हालसम्म ११७ प्रकारका अत्यावश्यक औषधिको मूल्य निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । ती औषधिमा प्यारासिटामोलदेखि अल्मिनाडोेलसम्मका छन् ।

विशेषगरी पछिल्लो समय नसर्ने रोग (मुटु, मिर्गौला, रक्तचाप)मा प्रयोग हुने औषधिको मूल्य निर्धारण भएको छ ।

नेपालमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । कार्यविधि बनाई औषधिको मूल्य निर्धारण गरिएको महानिर्देशक ढकालले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *