प्रदेश तहका कार्यालयका कर्मचारीको व्यवस्थापन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसार खारेज भएका मातहतका कार्यलयका कर्मचारीको व्यवस्थापनको तयारी थालेको छ ।
संघीय संरचना अनुसार गत १ साउन देखि खारेज भएका क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय मेडिकल स्टोर लगायतका कार्यालयका कर्मचारीहरुको व्यवस्थापनको तयारी थालेको हो ।
कार्यालय नै खारेजीमा परेपछि कार्यरत कर्मचारीहरुले तलव खान समेत बाधा परेको छ ।
मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले खारेजीमा परेका क्षेत्रीय कार्यालयहरुका कर्मचारीको व्यवस्थापन नयाँ स्थापना भएको प्रदेश स्वास्थ्य निर्देशनालय र त्यसअन्तरर्गतका कार्यालयमा राख्ने तयारी भएको बताए ।
उनले भने, ‘लगभग ४५० को हाराहारीमा यी निकायका कर्मचारीहरुको संख्या छ । यिनीहरुको व्यवस्थापन गर्न मन्त्रालयले तयारी थालेको छ ।’
कर्मचारी व्यवस्थापन पछि मात्रै तलव निकासा हुने बताइएको छ । यी निकायमा चौथो पाँचौँ देखि एघारौँ तहसम्मका कर्मचारीहरु कार्यरत छन् ।