भरतपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाइन्छ : उपप्रधानमन्त्री यादव
चितवन २७ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चितवनको भरतपुर अस्पताललाई सम्पूर्ण विशेषज्ञ सेवासहितको उत्कृष्ट अस्पताल बनाइने बताएका छन् ।
चितवनको भरतपुर अस्पतालद्वारा आज आयोजित अन्तक्र्रियामा उनले केन्द्रीय अस्पतालका रुपमा राख्न नसकेपनि सबै सेवासहितको अत्याधुनिक अस्पतालमा विकास गर्ने बताए । मन्त्री यादवले मेडिकल शिक्षाका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई सँगै अगाडि बढाउन सकिने उल्लेख गरे ।
जुनसुकै कामका लागि आफ्नो जग्गा आवश्यक रहने हुनाले भाडामा दिइएका जग्गा फिर्ता लिन उनले निर्देशन दिए । “आज जुन जग्गा धेरै देखेका छौँ, त्यो भोलि गएर थोरै हुन सक्छ, अबको ४०÷५० वर्षलाई हेरेर अस्पतालको विकास गर्नुपर्छ, यसलाई मध्यनजर गर्दै भाडामा दिइएको जग्गा फिर्ता लिनुहोस् र विकल्पको खोजी गर्न लगाउनुहोस्”, मन्त्री यादवले भने ।
उनले चालू आवमा उक्त नीति कार्यान्वयन गरिने र सरकारले चालू आवमा एक हजार २०० अस्पताल बनाउने लक्ष्य राखेको जानकारी दिनुभयो । “आधारभूत स्वास्थ्य तल नै उपलब्ध भएपछि अहिलेको भीडमा कमी आउँछ”, मन्त्री यादवको भनाइ थियो । रासस
राम्रो तर गजेन्द्रनारायण अस्पताल लाई स्वास्थ चौकी बनाइदिनु।