न्याम्सको उपकुलपतिका लागि आवेदन खुल्ला गर्दै सर्च कमिटि, न्यूनतम योग्यता यस्ता छन्

काठमाडौँ, २५ साउन ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि दरखास्त आवहान हुने भएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिन भित्रमा दरखास्त हाल्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सो सूचना २७ साउन ( आउदो आइतबार) प्रकाशित हुँदैछ ।

आवेदनका लागि तीन खालको योग्यता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको सर्च कमिटिको बैठकले उपकुलपतिका लागि आवेदन दिन तीन खालको योग्यता तोकेको छ ।

  • नेपाल चिकित्सक परिषदमा दर्ता भई नेपाल सरकारको ११ औँ तहको चिकित्सक वा सो भन्दा माथिल्लो तहमा बहालवाला वा अवकाश प्राप्त चिकित्सक ।
  • स्वास्थ्य प्रतिष्ठानको प्राध्यापक वा अवकाश प्राप्त प्राध्यापक ।
  • स्वास्थ्य संस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारी वहन गरेको वा गरिसकेको व्यक्ति  ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ को दफा १८ को (२) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड २०७३ अनुसार आवेदन माग्न लागिएको बताएको छ ।

गत २३ साउनमा न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङको चार बर्षे पदावधी सकिएपछि नयाँ उपकुलपति नियुक्तिका लागि गत बुधबार प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले सर्च कमिटि गठन गरेका थिए । सो कमिटिमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव एवं सहकुलपति यादव संयोजक, मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल सदस्य र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा सदस्य रहेका छन् ।

डा सुवोध अधिकारी निमित्त उपकुलपति
यसैबीच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको निमित्त उपकुलपति डा सुवोध अधिकारीलाई दिने भएको छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *