जुम्ला घटनाको छानविन किन सेलायो ? वाग्ले भन्छन्, ‘चिठी पुरयाउनै टाढा भयो’

काठमाडौँ, २० साउन । डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भएको घटनाको छानविन गर्न गठित समिति अझै क्रियाशिल भएको छैन । समिति गठन गरेपनि त्यसको क्षेत्राधिकार तथा आर्थिक व्यवस्था लगायतका विषयमा प्रतिष्ठानले स्पष्ट व्यवस्था नमिलाउँदा समिति क्रियाशिल हुन नसकेको हो ।

त्यसबाहेक समितिका कतिपय सदस्यहरुले समितिका सदस्यहरुकै बारेमा प्रश्न उठाएपछि थप अन्योलको अवस्था देखिएको हो ।

अनशनरत डा केसीलाई जुम्लाबाट काठमाडौँ सिफ्ट गर्ने क्रममा गत ३ साउनका दिन प्रतिष्ठान भित्र उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । सो झडपमा परी केही डा केसीका समर्थक र केही प्रहरी घाइते भएका थिए । झडपका क्रममा प्रतिष्ठानमा समेत भौतिक क्षति पुगेको थियो ।

त्यसको छानवीन गर्न भन्दै प्रतिष्ठानले गत ८ साउनमा प्राडा गिताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो । सो समितिमा पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती, प्राडा कृष्णकुमार राई, डा बाबुराम मरासिनी, डा देवमान लिम्बू, गोरख थापा सदस्य तोकिएको थियो । सो समितिको सदस्य सचिवमा अधिवक्ता राजु कटुवाल तोकिएका छन् । उनी गगन थापा स्वास्थ्य मन्त्री रहँदा कानुनी सल्लाहकार थिए ।

‘सदस्यहरुमा कोही स्थानीय पत्रकार भनेर राखिएको छ । कोही विपक्षी नेताका कानूनी सल्लाहकार छन् । फेरी यो पटकको अनशन जे जस्तो भनिएको भएपनि राजनीतिक रंग मिसिएको अनशन भयो । जुम्लाको घटनालाई अहिलेसम्म त्यसरी नै हेरिएको छ । स्थानीय बासिन्दालाई नै छानवीन समितिमा राखियो भने निस्पक्ष कसरी हुन्छ ?’ एक सदस्यले भने ।

उनले समितिलाई छानवीनका लागि आर्थिक तथा क्षेत्राधिकार बारेमा केही टिओआर नदिएपछि एउटै बैठक पनि नबसेको बताए ।

अफ्टेरोमा छन् उपकुलपति वाग्ले
डा केसीका निकट सहयोगी समेत मानिने उपकुलपति प्राडा राजेन्द्र वाग्लेले बनाएको छानविन समिति अहिलेसम्म निस्कृय छ । उनी काठमाडौँ आएको १० दिन भयो तर अहिलेसम्म छानविन समितिका सबै सदस्यहरुलाई भेटेका समेत छैनन् । यसबीचमा संयोजक रहेका प्राडा जोशीले स्वास्थ्यका कारण देखाई तत्काल काम गर्न नसक्ने निवेदन दिइएको बुझिएको छ ।

घटना भएको दिन सरकारी बार्ता टोलीलाई भेट गर्न खोज्दा अवरोध गर्न विद्यार्थी तथा स्वास्थ्यकर्मीर्लाी उक्साउने, स्थानीय प्रदेश सरकारका मन्त्रीहरुलाई समेत छिर्न नदिने बाताबरण गराउने काममा वाग्ले सहितका प्रतिष्ठानकै अधिकारीहरु लागेको आरोप आउन थालेपछि उनी थप समस्यामा परेका हुन् ।

‘यो डाक्टर केसीसंग जोडिएको मुद्धा हो । अहिले सरकारसग सहमति भएको अवस्था छ । त्यसैले पनि केही ढिलाई भएको हो,’ उपकुलपति प्राडा वाग्लेले भने ।

तर अस्पताल भित्रको तोडफोड र घटनाको बारेमा अनुसन्धान अघि बढाउने कुरालाई डा केसीको मुद्धासंग जोडनु तर्कसंगत नदेखिने प्रतिष्ठानकै कर्मचारीहरु बताउँछन् ।

डा वाग्लेले कर्णाली दुर्गम क्षेत्रमा पर्ने र कतिपय सदस्यहरुलाई चिठी पुरयाउन समेत अफ्टेरो पर्ने भएकोले ढिलाई भएको अर्को कारण बताए । उनले भने,’कर्णाली र काठमाडौको दुरी हेर्नुस कति टाढा छ । हामीले चिठी समेत पुरयाउन सकेका छैनौँ । त्यसपछि एउटा सेफमा आउँला ।’

‘फेरी यो डा केसीको मुद्धा भएको र उनी उपचारमै रहेकोले पनि यसले गति लिन नसकेको हो,’ उनले अर्को तर्फ प्रस्तुत गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *