सरकार निकट स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था बन्दको आवहानलाई अवज्ञा गर्ने

काठमाडौँ, २ साउन ।  नेपाल चिकित्सक संघले भोलिका लागि आवहान गरेको स्वास्थ्य संस्था बन्दको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका विभिन्न पेशागत संस्थाले विरोध गरेको छ । ती संस्थाहरुले भोलिका लागि घोषित स्वास्थ्य संस्था बन्दको कार्यक्रमको अवज्ञा गर्ने जनाएको छ ।

स्वास्थ्य संस्था बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा लगत्तै नेकपा निकट मानिने राष्ट्रिय चिकित्सक संघ र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, मधेशी चिकित्सक संघ, नेपाल नर्सिङ संघ लगायतका विभिन्न स्वास्थ्यकर्मीहरुका पेशागत संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गरी विरोधमा उत्रिएका हुन् ।

उनीहरुले डा केसीको चाहना विपरित चिकित्सक संघले स्वास्थ्य संस्था बन्द गराई सरकार विरुद्ध ‘राजनीतिक गेम’ खेलेको आरोप लगाएका छन् ।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलले सरकारले बार्ताको थालनी गरिसकेको अवस्थामा चिकित्सक संघले भोलिका लागि स्वास्थ्य संस्था बन्दको आयोजना गर्नु राजनीतिक उद्धेश्यबाट प्रेरित कार्य भएको आरोप लगाए । उनले माइतीघरमा नेपाली कांग्रेसले प्रदर्शन गर्दै रहेको बेलामा स्वास्थ्य संस्था बन्द गरी त्यतिवेले त्यहि बोलाउनुले डा केसीको सत्याग्रहलाई पार्टीगत रुपमा लाभ लिने हिसावले अघि बढाएको आरोप लगाए ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा कृष्णसागर शर्माले डा केसीको स्वास्थ्यप्रति सबै चिकित्सक चिन्तित रहेको अवस्थामा त्यसलाई व्यवहारिक रुपमा सल्टाउने साटो वन्दको बाटो रोजेको बताए । उनले आफूहरुसंग बार्ता कमिटि गठन गरे डा केसीलाई हामी ल्याउछौँ भन्ने तर बार्ता सुरु भएपछि आन्दोलन गर्नु ‘डवल स्टान्र्ड’ भएको आरोप लगाए ।

मधेशी चिकित्सक संघका प्रवक्ता डा. विनय पन्जीयारले चिकित्सक संघले गरेको बन्दको आवहान विरुद्ध आफ्नो संस्था लागेको बताए । उनले भने हामी भोलिपनि सदा जस्तै नियमित रुपमा सेवामा खटिन्छौँ । हामीमाथि अबरोध गर्न खोजिए कडा रुपमा प्रतिकार गर्न समेत उन्त्रिन्छौँ । उनले डा केसीको स्वास्थ्य माथि चिकित्सक संघले राजनीति गरेको आरोप लगाए ।

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले माथेमा आयोग कार्यदलको सुझाव नै अपुरो रहेको भन्दै त्यसैलाई टेकेर भोलिका लागि आवहान गरेको स्वास्थ्य संस्था बन्दको कार्यक्रमलाई आफ्नो संस्थाले अवज्ञा गर्ने बताइन ।

यस्तै जनस्वास्थ्य कर्मी संघका अध्यक्ष भक्तिमान सुब्बा, प्रगतिशील स्वास्थ्यकर्मी संघका अध्यक्ष क्षेत्रराज कार्की लगायतले समेत चिकित्सक संघको आवहानलाई अवज्ञा गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका महासचिव डा रमेश ढकाल, डा प्रदीप ज्ञवालीहरुले चिकित्सक संघको बन्द गर्ने कार्यको आलोचना गर्दै आफूहरु विरामीकै सेवामा खटिने बताए ।

चिकित्सक संघको केन्द्रीय कोषाध्यक्ष पनि बन्दको विपक्षमा
यसैबीच नेपाल चिकित्सक संघकी केन्द्रीय कोषाध्यक्ष डा रक्षा श्रेष्ठले भोलि आवहान भएको स्वास्थ्य संस्था बन्दमा आफ्नो सहमति नभएको बताएकी छन् । बन्द गर्ने विषयमा भएको निर्णयप्रति आफूले नोटअफ डिसेन्ट लेखेको भन्दै उनले संस्थागत निर्णयमा आफ्नो असहमति रहेको बताइन ।

‘चिकित्सक भनेको अलि बौद्धिक बर्ग मानिन्छ । यसको आन्दोलनको शैली पनि अलि फरक हुनुपर्छ । विरामीको उपचार गर्ने जस्तो सम्वेदनशील पेशा रोजेर दवाव दिनकै लागि विरामीको उपचार नै गर्दिन भन्नु अपराध हो’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *