तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

सुर्खेत, ३२ असार । जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिए।

“हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ,” स्वास्थ्य संयोजक उपाध्यायले भने ।

गाउँपालिकमा भएका एक हजार १०० बालबालिकालाई पूर्णखोप लगाइएको छ । तातोपानी गाउँपालिका जुम्ला–२ का स्थानीय महिला छायाँदेवी परियारले सुनौला हजार दिनको समय अवधिभित्र र जन्माएको चार पटकसम्म आफ्नी छोरीलाई नियमित खोप लगाएको बताए ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पूर्णखोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको जनाउँदै तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगदबहादुर शाहीले तीन गाउँपालिकासँगै अबको छ महिनाभित्र जुम्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको बताए ।

जुम्लाका हिमा र सिंजा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भइसकेका छन् । बाँकी चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी र कनकासुन्दरी गाउँपालिकामा पनि पूर्णखोप घोषणाको तयारी चलिरहेको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *