डा. गोविन्द केसीको स्वास्थ्यप्रति डाक्टरहरु एक मत, आन्दोलनको विषयमा भने मत बाँझियो

काठमाडौँ, २६ असार । डा. गोविन्द केसीको मागका सन्दर्भमा सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिनै लाग्दा नेपाल चिकित्सक संघले मंगलबार दिउसो २ बजे आफ्नै कार्यालयको सभा हलमा मास मिटिङको आयोजना गरेको थियो । विषय थियो, ‘डा.  केसीका सन्दर्भमा एनएमएले के गर्ने ?’

एनएमएका पूर्व पदाधिकारीहरु, राष्ट्रिय चिकित्सक संघका पदाधिकारी, मधेशी चिकित्सक संघका पदाधिकारीहरु, रेजिडेन्ट डाक्टर्स एशोसिएशनका प्रतिनिधिहरु, मेडिकल काउन्सिलका पदाधिकारी तथा प्रतिनिधि, विभिन्न अस्पतालका निर्देशकहरुको सहभागिता रहेको उक्त मिटिङमा सहभागि सबैले डाक्टर केसीको जटिल स्वास्थ्य अवस्था प्रति चिन्ता व्यक्त गरेका थिए ।

डा. केसीको जीनवरक्षाको माग गरेका थिए । तर सो मिटिङमा सहभागी अधिकांशले डा केसीकै अनशनलाई समर्थन गर्दै सेवा बन्द गर्ने घोषणा तत्काल नगर्न एनएमएलाई सुझाव दिएका थिए । त्यसपछि बसेको एनएमए बैठकले तत्कालका लागि एक घण्टा धर्ना दिने कार्यक्रम अघि सारेको हो ।

कसले के भने ?
मिटिङको शुभारम्भ गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.  मुक्तिराम श्रेष्ठले डा. केसीको अनशन लम्बिदै जाँदा समेत सरकारको तर्फबाट बार्ताको पहल नभएको आफूहरुले दिएको अल्टिमेटम समेत सकिएको अवस्थामा अब के गर्ने भन्दै सहभागीहरुसंग राय मागेका थिए । उनले अनशन लम्बिदै जाँदा डा केसीको स्वास्थ्य समेत जटिल बनेको भन्दै सरकारलाई दवाव दिन के कस्ता कार्यक्रम गर्ने भन्दै सुझाव मागेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा कृष्ण अधिकारीले डा केसीको जीवन रक्षा सबै चिकित्सकको पहिलो दायित्व भन्दै यसप्रति गम्भीर हुन आग्रह गरे । उनले डा केसीको स्वास्थ्यमा जुनसुकै अवस्थामा जटिलता उत्पन्न हुने भन्दै एनएमएको पहलमा काठमाडौँ ल्याउन सुझाव दिए । डा. केसीका मागका सन्दर्भमा भने थप छलफलको आवश्यकता रहेको भन्दै विरोधका लागि सेवा बन्द गर्ने घोषणा नगर्न एनएमएलाई सुझाव दिएका थिए ।

एनएमएका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झाले डा केसीका मुद्धालाई राजनीतिक करण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे । उनले बदलिदो परिस्थितिमा चिकित्सक संघ समेत सचेत ढंगले अघि बढ्नुपर्ने भन्दै क्रान्तिकारी कदम उठाउनु अघि गम्भीर ढंगले बहस गर्नु जरुरी रहेको सुझाए । उनले डा केसीको स्वास्थ्यप्रति भने सबैजना गम्भीर हुनुपर्ने र उचीत उपचारको व्यवस्था गर्नुपर्ने बताए ।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलले डा केसीको स्वास्थ्य पहिलो प्राथमिकता रहेको भन्दै त्यसतर्फ अग्रसर हुन एनएमएलाई सुझाव दिए । उनले डा केसीको माग पुरा गराउन दवाव दिन भन्दै सेवा बन्द गर्ने कार्यक्रम नल्याउन सुझाव दिए । उनले नीति बनाउने जिम्मा सरकारको भन्दै माथेमा आयोगको सुझाव हुवहु लागू हुन नसक्ने तर्क दिए । आयोगले त सुझाव दिने हो । उसले दिएको सबै सुझाव लागू गर्नुपर्छ भन्ने छैन । यसतर्फ सबैले सोच्न जरुरी छ उनले भने ।

राष्ट्रिय चिकित्सक संघका महासचिव डा रमेश ढकालले डा केसीको जीवनरक्षाका लागि संघले नेतृत्व लिनुपर्ने बताए । तर डा केसीको जीवनरक्षाका लागि भन्दै सेवा बन्दका कार्यक्रम नगर्न सुझाव दिए । उनले भने, जनता र हामीबीचको खाडल अहिले पनि फराकिलो बन्दै गइरहेको छ । यस्तो अवस्थामा अहिले सेवा बन्द गर्दा झन नकारात्मक अवस्था सिर्जना हुने बताए ।

प्रसूतिगृह अस्पतालका निर्देशक डा जागेश्वर गौतमले डा केसीको अनशनलाई समर्थन गर्ने नाममा एनएमएले विगतमा समेत सेवा बन्द गर्ने कार्य गरेको भन्दै यसपटक सो कार्यक्रम आए समर्थन गर्न नसकिने बताए । उनले विरामीको उपचार छाडेर आन्दोलन गर्ने ह्वीप आए आफूले बरु एनएमएको सदस्यता त्याग्ने चेतावनी दिए ।

नेशनल रेजिडेन्ट डाक्टर एसोशिएशनका अध्यक्ष डा सुमित पाण्डेले डा केसीको अनशनको एघारौँ दिन वितिसक्दा समेत सरकार जिम्मेवार नभएको भन्दै कडा आन्दोलनको विकल्प नभएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ प्रस्तुत गरेको होला, आन्दोलनले कस्ता कस्ता मै हु भन्ने महाराजाहरु फालिए । जावो सरकार त के कुरा ?’ उनले भने । डा पाण्डेले अहिलेसम्म एनएमएले केही गर्छ कि भनेर पर्खिएको भन्दै कडा घोषणा नगरे आफूहरुले छुट्टै आन्दोलनको घोषणा गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा मधेशी चिकित्सक संघका डा विनय पन्जियारले आयोगको सुझावलाई हुवहु कार्यान्वयन गर्न सरकार बाध्य नभएको बताए । उनले डा केसीसंग गरिएका सबै सम्झौँता ठिक भएको भए अघिल्ला सरकारले कार्यान्वनय `किन गरेनन ?´ भनेर प्रतिप्रश्न गरे । उनले डा केसीको जीवनरक्षाका लागि भने पहल गर्नुपर्ने बताए ।

एनएमएका सदस्य डा अनिलविक्रम कार्कीले डा केसीप्रति सरकारले देखाएको रवैया ठिक नभएको भन्दै एनएमएले कडा कदम चाल्न सुझाव दिए । उनले प्रधानमन्त्री देखि मन्त्रीहरुका अभिव्यक्तिहरु गैरजिम्मेबार रुपमा आएका भन्दै समस्या समाधान गर्न भन्दा पनि सरकारले बल्झाउने दिशामा अघि बढीरहेको बताए ।

कार्यक्रममा डा केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेर फर्किएका एनएमएका बरिष्ठ उपाध्यक्ष डा ढुण्डी पौडेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा डा केसीको स्वास्थ्य अवस्था एकदमै जटिल बन्दै गएको र जुनसुकै अवस्थामा दुर्घटना हुनसक्ने भन्दै सचेत गराएका थिए । उनले जसरी भएपनि डा स्वास्थ्यलाई सुरक्षित गर्नु पहिलो जरुरी रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *