अनशन बस्न जुम्ला पुगेका डा. केसी प्रहरी नियन्त्रणमा
काठमाडौँ, १६ असार । आफ्नो पन्ध्रौँ अनशन शुरु गर्न जुम्ला पुगेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी प्रक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय गेटमै अनशन शुरु गरेका डा केसीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि डा केसीले प्रहरी हिरासतबाटै अनशन शुरु गरेको सहयोगी किशोर केसीले जानकारी दिए ।
चिकित्सा शिक्षा विधेयक तोडमोड गरी पास गराउन खोजेको भन्दै डा केसीले शुक्रबारबाट अनसन बस्ने घोषणा गरेका थिए । तर सार्वजनिक यातायातको प्रयोग गरी हिजो उनी जुम्ला पुग्दा नै रात परिसकेको थियो ।
स्थानीय प्रशासनले डा केसीलाई लक्षित गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपरको २०० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
निषेधित क्षेत्रका घोषणा गरेपनि डा केसीले अनसन शुरु गर्ने जनाएका थिए । आज विहान मात्रै उनी आफ्नो स्वास्थ्य परीक्षण गराउन प्रतिष्ठान तर्फ लाग्न खोज्दा प्रहरीले रोकेको थियो ।
त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका थिए । उनले दिउसो २ बजे देखि गेटमै अनशन हुने घोषणा गरेका थिए । डा केसीका सहयोगी किशोरका अनुसार डा केसीको धर्ना हटाउन प्रहरीले पटक पटक बल प्रयोग गरेको थियो । सो क्रममा सामान्य ढुंगामुडा समेत भएको थियो ।