डा. देवकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमा
काठमाडौँ, ५ असार । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा राखिएको छ ।
अन्तिम श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो ।
सोमबार साँझदेखि नै अस्पताल परिसरमा सर्वसाधारण र शुभेच्छुकहरुको भिड लागेको थियो र आजपनि कायमै छ ।
देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ ।