प्रदेश सरकारको बजेट : ५ ले छुट्यायो स्वास्थ्यमा २४ करोड
रुपन्देही, १ असार । प्रदेश नम्बर ५ सरकारले आर्थिक बर्ष ०७५/७६ को लागि २८ अर्ब ९ करोड ३ लाख रूपैयाँ वराबरको बजेट प्रदेश सभामा आज प्रस्तुत गरेको छ ।
बजेटमा स्वास्थ्य क्षेत्रमा २४ करोड विनियोजन गरेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गरेका हुन् । उनले स्थानीय तहमा स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्दै लैजान समेत बजेटको व्यवस्था गरेको बताए । हाइड्रोशीलको निःशुल्क उपचार र आमा सुरक्षा कार्यक्रमको लागि पनि बजेटमा रकम छुट्याएको उनले उल्लेख गरे ।
त्यसैगरी दुर्घटनामा परी अंगभंग हुनेहरूको सहज उपचारको लागि दाङको लमहीमा ट्रमा सेन्टरको स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार र अनुसन्धान साथै थालासेमिया रोग निदान र जनचेतनाको लागि १ करोड विनियोजन भएको छ ।
बजेटले स्वास्थ्य सेवाको पहुँज सहज गराइने, प्रदेशका सबै जिल्लामा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्न एक करोड विनियोजन गरेको छ । सुरक्षित मातृत्वको लागि बर्थिङ सेन्टरहरु विस्तार र सुधार गर्न एक करोड विनियोजन भएको छ ।
प्रदेश मातहत संचालित अस्पतालहरूको सुदृढीकरणको लागि ३ करोड, अस्पतालहरूमा पोष्टमार्टम तथा मर्चरी रुम निर्माणको लागि २ करोड ४० लाख विनियोजन भएको छ ।
प्रदेश ५ मा रहेका तीन वटा अञ्चल अस्पतालको लागि आइसियू सहितको एग्रेडको एम्बुलेन्स व्यवस्था गर्न १ करोड ५० लाख विनियोजन छ ।
५० बेडका सरकारी अस्पतालमा अनिवार्य रूपमा २ वटा एम्बुलेन्सको व्यवस्था गर्न २ करोड ८६ लाख बजेट विनियोजन गरेको मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।
शिशु र सुत्केरीका लागि पोषण भत्ता दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला सेवा विस्तार र पहुँच पुराउन २ करोड बजेट विनियोजन भएको छ ।