गम्भिर अवस्थामा उपचाररत डा. देवकोटालाई जन्मथलो गोरखा लगियो
काठमाडौँ, २६ जेठ । गम्भीर अवस्थामा उपचाररत बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई गोरखा लगिएको छ । डा देवकोटाको चाहना अनुसार परिवारले केही बेर अघि नेपाली सेनाको हेलिकप्टरमार्फत जन्मघर तर्फ लगेका हुन् ।
डा देवकोटाको जन्मघर गोरखाको पालुङटार नगरपालिकाको आँप पिपलस्थित पण्डित गाँउमा हो । उनले आफ्नो गाँउमा रहेको सिस्नेपानी धाराको पानी खाने र आफू जन्मेको घरको पिँढीमा सुस्ताउने इच्छा गरेका थिए । सोही अनुसार श्रीमती र केही चिकित्सकको टोली सहित हेलिकप्टर त्यस तर्फ लागेको छ ।
यसअघि उड्ने समयमा मुसलधारे पानी र तिब्र गतिमा हावा हुरी चलेपछि पाइलटले हेलिप्याडबाट जमिन छोडिसकेको हेलिकप्टर नजिकै अवतरण गराएका थिए । करीब १० मिनेट रोकिएपछि पुन उडेको हो ।
गएराती डा देवकोटाको मृत्युको अफवाह फैलिएको थियो । परिवारले विहान त्यसको खण्डन मात्रै गरेन डा देवकोटालाई नै अस्पताल बाहिर ल्याएर अवस्था सार्वजनिक गरेको थियो । डा देवकोटालाई पछिल्लो पाँच दिन देखि लगाइएको भेन्टिलेटर झिकिएको छ ।
गोरखामा एक ढेड घण्टा सुस्ताएपछि उनलाई पुन काठमाडौँ ल्याउने परिवारको योजना छ ।