बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको उपचार आयुर्वेदिक पद्धतीबाट

काठमाडौँ, २७ बैशाख । बरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटाको उपचार आयुर्वेदिक पद्धतीबाट सुरु गरिएको छ । बेलायतस्थित किंङ्स कलेज अस्पतालमा साढे पाँच महिना लामो उपचारबाट निको नभएपछि नेपाल फर्किएका डा देवकोटाको आयुर्वेदिक पद्धतीबाट उपचार सुरु गरिएको हो ।
डा देवकोटाको उपचार आयुर्वेद चिकित्सक ऋषिराज कोइरालाले गरिरहेको उनका भतिजा बसन्त देवकोटाले जानकारी दिए । डा देवकोटालाई पित्तथैलीमा क्यान्सर भएको पुष्टि भएपछि किङस कलेज अस्पतालमा दुई पटकसम्म केमो थेरापी दिइएको थियो । तर सो उपचार प्रभावकारी नभएपछि डा देवकोटा गत १५ बैशाखमा नेपाल फर्किएका थिए । उनको अहिले बाँसबारीस्थित न्युरो अस्पतालको भिआईपी क्याविनमा उपचार भइरहेको छ ।
आयुर्वेदिक पद्धतीबाट उपचार गर्दा कुनै हानी नगर्ने भएकोले सो पद्धती अपनाइएको डा देवकोटाका भतिजा बसन्तले बताए । उनले सुरुको अवस्थामा भन्दा अहिलेको अवस्था केही सुधारोन्मुख भएको समेत जानकारी दिए ।
‘पहिले भन्दा सुधार पनि भएको छ । अहिले त उहाँ भेटघाट गर्न आउने मान्छेसंग बोल्न सक्नुहुन्छ,’ न्युरो अस्पतालका प्रशासन प्रमुख समेत रहेका भतिजा बसन्तले भने ।
- आजको गोरखापत्रमा समाचार छ ।